| |

नेपालमा संक्रमितको संख्या ५२ हजार नजिक, शुक्रबार एकहजार ४५४ थपिए

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, भदौ २६ ।
नेपालमा शुक्रबार एक हजार ४५४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा एक हजार ४५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यस्तै मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन् । देशभर ६ हजार ७८ जना क्‍वारेन्टिनमा रहेका छन् ।
शुक्रबार देशभर १० हजार ७०१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ८ लाख २१ हजार १८६ परीक्षण भएका प्रवक्ता गौतमले बताउनुभयो । देशभर भेन्टिलेटरमा २५ जनाको उपचार भइरहको छ भने १७० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १०५ जना रहेका छन् ।
नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९७२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ प्रतिशत रहेको छ ।
शुक्रबार कोरोना भाइरस संक्रमणाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ । कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु सुनसरी, सर्लाही, काठमाडौं, चितवन र रुपन्देही रहेका छन् । प्रवक्ता गौतमका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, म्याग्दी र मुगु गरेर पाँच बटा जिल्लामा कोरोना संक्रमण शून्यमा झरेको हो।

अरुलाई पनि शेयर गरौ !

Similar Posts