ताप्लेजुङ गोल्डकपमा बिजेता,उपबिजेता र सर्बोत्कृष्ट खेलाडीले पाउने पुरस्कार प्रायोजनबाट सुरक्षित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २४ । साउन २४ गते देखि हुने तेस्रो ताप्लेजुङ गोल्डकपका बिजेता र उपबिजेताले पाउने पुरस्कार यहाँ कार्यक्षेत्र रहेका दुई ठूला कम्पनीले गर्ने निश्चित भएको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार गोल्डकपका बिजेताले पाउने ७ लाख २ हजार ८२ रुपैयाँ राशीको पुरस्कार रकम ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ र फुङलिङ नगरपालिका कार्यक्षेत्र रहेको माथिल्लो तमोर जलविद्युत आयोजनाले गर्ने भएको छ । माथिल्लो तमोर जलविद्युत आयोजना २ सय ८५ मेगावाट क्षमताको रहेको छ । यस्तै गोल्डकपका उपबिजेताले पाउने ३ लाख ५० हजार ८२ रुपैयाँ राशीको पुरस्कार रकम पाथीभरा देवी दर्शन केवलकार प्रालिले गर्ने भएको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले केवलकार प्रालिले उपबिजेताले पाउने पुरस्कार रकम दिनेगरी सम्झौता भएको जानकारी दिनुभयो ।

यसबर्ष सर्बोत्कृष्ट खेलाडीले यमाहा कम्पनीको बाइक पाउँदैछन् । प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईको समन्वयमार्फत यमाहा कम्पनीले सर्बोत्कृष्ट खेलाडीले पाउने एकथान बाइकका लागि आयोजक लाखेजात्रा सञ्चालन समितिकोसंग सम्झौता गरेको छ । कोशी प्रदेश सरकार उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले अखिल नेपाल फुटबल संघ(एन्फा)संग समन्वय गरेर प्रतियोगिताका क्रममा चाहिने फुटबल सहितका प्राविधिक सामग्री उपलब्ध गराउनु भएको छ ।
कम्तिमा १२ हजार दर्शक अट्ने प्याराफिट तयार
टिकट बिक्रीका लागि २० लाख १ हजार रुपैयाँमा बोलपत्र दिईसकेको लाखेजात्रा सञ्चालन समितिले अस्थायी र स्थायी गरी कम्तिमा १२ हजार दर्शकले प्याराफिटमै बसेर गोल्डकपको दर्शन गर्न पाउने व्यवस्था सुरक्षित गरिएको जनाएको छ । लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष शेर्पाका अनुसार प्याराफिटमा मात्रै १२ हजार बढी दर्शकले गोल्डकप अवलोकन गर्न सक्ने जानकारी दिनुभयो ।

बोलपत्र सकारेको संस्था वा समूहले क्वाटर फाइनल चरणका ४ खेलका लागि जनही १ सय,सेमीफाइनल चरणका दुई खेलका लागि जनही २ सय र फाइनलको एक खेलका लागि जनही २ सय ५० रुपैयाँका दरले टिकट बिक्री गर्न पाउने छ । १० बर्ष वा सो भन्दा मुनिका बालबच्चा तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको परिचय खुल्ने आधिकारिक कागजातका आधारमा प्रवेश शुल्क मिनाह गरिने आयोजक समितिले जनाएको छ ।

यसपटक पनि आयोजकले गोल नेपाल डटकमबाट प्रतियोगिताका सबै खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने छ । स्थानीय सञ्चारकर्मीका लागि १० जना अट्ने गरी मिडिया जोन समेत निर्माण गरिएको आयोजक संस्थाका कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

Similar Posts