ताप्लेजुङबाट तीन लिम्बूवानी घटकले गरे साउन २२ मा अरुण पूर्वका ९ जिल्लामा ‘आम हड्ताल’को घोषणा

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २० । तीनवटा लिम्बूवानी घटकहरुले मंगलवार ताप्लेजुङको फुङलिङमा संयुक्त पत्रकार सम्मेलन गर्दै साउन २२ गते अरुण पूर्वका ९ जिल्लामा ‘आम हड्ताल’को घोषणा गरेका छन् ।
बिक्रम् सम्वत १८३१ साल साउन २२ गते तत्कालिन गोर्खा राज्य र लिम्बूवानबिच नुनपानी सम्वन्धी(तसली लालमोहर)सन्धी भएको र उक्त सन्धी कार्यान्वयनमा दबाब दिन आम हड्तालको आवह्वान गरिएको दावी आम हड्तालको घोषणा गर्ने घटकहरुले गरेका छन् ।
लिम्बूवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष हेल्लोक,संघीय लिम्बूवान पार्टीका अध्यक्ष मित्र लिङदेन र लिम्बूवान राष्ट्रिय मोर्चाका अध्यक्ष दिल पालुङ्वा याक्थुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा अरुण पूर्वका ९ जिल्लालाई लिम्बूवान राज्य सुनिश्चित गर्न माग गरिएको छ ।
अरुण पूर्वका ९ जिल्ला भन्नाले ताप्लेजुङ,तेह्रथुम, धनकुटा, संखुवासभा,पाँचथर,इलाम,झापा,सुनसरी र मोरङलाई बुझ्ने गरिएको छ ।