सुँगुरका खोर हटाउने बिषयको बिबाद:साउन २२ गते भित्र खोर हटाउने निर्णय फिर्ता लिन संघर्ष समितिको अल्टिमेटम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १८ । साउन २२ भित्र सुँगुरका खोर हटाउन समयावधि दिएको ताप्लेजुङको फुङलिङ नगरपालिकालाई सुँगुर व्यवस्थापन संघर्ष समितिले २२ गतेभित्रै उक्त निर्णय फिर्ता लिईसक्न अल्टिमेटम दिएको छ ।

सुँगुरका खोर हटाउनुपर्ने नगरपालिकाको निर्णय बिरुद्ध संघर्षरत सुँगुर तथा बंगुर पालकहरुले आइतवार पत्रकार सम्मेलन गर्दै सुँगुरका खोर हटाउनुपर्ने नगरपालिकाको उर्दीलाई ‘निरंनकुश र बिभेदकारी’को संज्ञा दिए । उनीहरुले नगरपालिकाले उक्त निर्णय साउन २२ गते भित्र फिर्ता नलिए आफुहरु अशक्त आन्दोलनमा जाने बताएका छन् ।‘नगरपालिकाले सुँगुरका खोर व्यवस्थापनको बिषय उठाएर छलफलमा बोलाउला मध्यमार्गी बाटोमा सहमतिमा जुट्ला भनेको त,उल्टै पेल्न खोजेपछि हामी नगरपालिकाको निर्णयप्रति एकजुट र सशक्त रुपले प्रतिरोधमा उत्रिएका हौं’सुँगुर व्यवस्थापन संघर्ष समितिका संयोजक कल्पना लिम्बूले भन्नुभयो । उहाँले नगरपालिकाले जारी गरेका पहिलो र दोस्रो पटकका दुबै सूचनाले सुँगर तथा बंगुरका खोर व्यवस्थापन गर्ने नभई सुँगर तथा बंगुर पालन व्यवसायीलाई प्रतिश्थापन गर्ने प्रकृतिको रहेकोले आफुहरुले त्यसलाई ‘निरंनकुश र बिभेदकारी’को संज्ञा दिएको समेत बताउनुभयो ।

सुँगुर तथा बँगुर पालकहरुले मुख्य तथा शाखा सडकको यति क्षेत्र दायाँबाँया,मुख्य बस्ति भन्दा यति क्षेत्र टाढा मात्र सुँगुर तथा बँगुर पालन गर्न सकिने भनेर पालक र नगरपालिकाबिचमा छलफलको वातावरण बन्नुपर्नेमा उल्टो सुँगुरका खोर हटाउन चेतावनी दिने नगरपालिकाको कदम ठीक नभएको संघर्ष समितिका पदाधिकारी तथा सदस्यहरुले बताउनुभयो । आफुहरु सफाई,खोर व्यवस्थापन सहितका बिषयमा लचक रहेको तर नगरपालिका आफैंले विकल्पै नराखी खोर हटाउनुपर्ने रटान दिएकोले त्यसको प्रतिवादमा जानु परेको संघर्ष समितिले दावी गरेको छ । संघर्ष समिति संयोजक लिम्बूले याक्थुङ समुदायमा कतिपय सामाजिक कार्यमा सँुगुरको परिकार अनिवार्य रहेकोतर्फ संकेत गर्दै संस्कृति,सभ्यता,व्यवसायीको मर्मप्रति नगरपालिका अनुदार र विभेदकारी रहेको दावी गर्नुभयो । उहाँले नगरपालिकाले कहिल्यै पनि खोर व्यवस्थापनको बिषय नउठाई खोर हटाउने भनेर धक्कीपूर्ण उर्दी गरेको भन्दै आपत्ति जनाउनुभयो ।

नगरपालिकाले भने गत बिहीबार दोस्रोपटक ७ दिने म्याद दिदैं अव्यस्थित रुपमा रहेका सुँगुरका खोर साउन २२ गतेभित्र हटाइसक्न सूचना जारी गरेको थियो । उक्त अवधिभित्रमा सुँगुरका खोर नहटाए नगरपालिकाले दिने सेवा सुबिधा बन्द गर्ने नगरपालिकाको चेतावनी थियो । नगरपालिकाले तोक्मेडाँडा,कफी हाउस आसपासका क्षेत्र,तोक्मेडाँडा हुँदै पालसिंह डाँडा–बुद्धचौक–बिहीबारे आसपासका क्षेत्र,शेर्पाटोल–दाहालगाउँ–बाँझोगरा आधारभूत बिद्यालय आसपाससका क्षेत्र र वीरेन्द्रचौक–हुलाकटोल–नवज्योति बोर्डिङ स्कुल–नयाँबसपार्क हुँदै हेलिप्याड आसपासका क्षेत्रमा रहेका सुँगुरका खोर हटाउन सूचनामार्फत उर्दी गरेको छ । यस्तै बालमन्दिर क्षेत्र–पुरानो गोसलाइन–कञ्चनजंघा बोर्डिङ स्कुल हुँदै रिजाल लाइन क्षेत्र र भानुस्कुल–सेतिधारा–बोझे आसपासका क्षेत्रका सुँगुरका खोरहरु हटाउन समेत नगरपालिकाले साउन २२ गतेसम्मको म्याद दिएको छ ।

नगरपालिकाले बर्षातको समयमा देशभर मलेरिया रोग फैलिएको र ताप्लेजुङमा पनि मलेरियाका बिरामी फेला परेको तथा सुँगुरको मलमूत्रले वातावरण,जनस्वास्थ्य तथा अन्य पक्षमा समेत असर गर्ने तथा सेते लामखुट्टेका फुल र लार्भा फोहोरमा फैलने भएकोले अव्यस्थित रुपमा रहेका सुँगुरका खोर हटाउनुपर्ने सूचनामा भनेको थियो । यसअघि नगरपालिकाले २०८२ साल असार २७ गते सूचना प्रकाशित गरी साउन २ गतेसम्ममा सुँगुरका खोर हटाईसक्न भनेको थियो । त्यसपछि कार्यपालिकाको मिति २०८२ साल असाउन ११ गते बसेको बैठकले तोकिएका क्षेत्रमा सुँगुरका खोर नहटाए नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट कटौति गर्ने निर्णय गरेको जानकारी सहित मिति २०८२ साल साउन १५ गते दोस्रोपटक ७ दिने म्याद सहितको सूचना प्रकाशित गरेको थियो ।

Similar Posts