पर्यटकीय गन्तव्य मुधिङ कोक्मा पार्क क्षेत्रमा सरसफाई

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १७ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको पर्यटकीय गन्तव्यमा सरसफाई गरिएको छ । फुङ्लिङ बजार नजिकको पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको स्थल मुधिङ कोक्मा–भिन्तुना धान नाच पार्क क्षेत्रमा सरसफाई गरिएको हो ।
किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ शाखा र तोक्मेडाँडा सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा तोक्मेडाँडा हटिया क्षेत्रमा रहेको धान नाच पार्क (ताक्वाचङ यायाक्मा तेन), भिन्तुनाडाँडा हुँदै मुधिङ कोक्मा (बल्ने ढुङ्गाको डाँडा) पार्क क्षेत्रमा सरसफाई गरिएको हो । नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्राको अवसरमा सरसफाई गरिएको अभियान्ता मुक्साम लाबुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरसफाई कार्यक्रममा फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष दुर्गा पालुङ्वा, कियाचुका जिल्ला अध्यक्ष डम्बरबहादुर पालुङ्वा, वन उपभोक्ता समूहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । सरसफाई अभियानअन्तर्गत पार्क स्थल, सो क्षेत्रमा आउजाउ गर्ने पदमार्ग लगायतमा रहेको फोहोरजन्य वस्तुहरु संकलन गरिएको थियो ।
यता गठेमंगलदेखि सुरु भएको लाखेजात्रा कृष्ण जन्माष्टमीपछि सम्पन्न हुने र सो अवधिसम्म प्रत्यके हप्ताको शुक्रबार सरसफाई अभियान सञ्चालन गरिने कियाचुकी जिल्ला सचिव कमला पालुङ्वाले जानकारी दिनुभयो । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले स्वस्फूर्त रुपमा सरसफाई अभियान चलाउन सुरु गरिएको पालुङ्वाले बताउनुभयो ।