कार्यपालिका सदस्य सलिना साँवाको कार्यवाहक वडाध्यक्ष

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १६ । वडाध्यक्षको मृत्यु पछि ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ को कार्यवाहक वडाध्यक्षको जिम्मेवारी कार्यपालिका सदस्य सलिना बराईलीले पाउनु भएको छ ।
बराईली मिक्वाखोला गाउँपालिका वडा नं ४ को वडा सदस्य हुँदै मिक्वाखोला गाउँपालिकाको कार्यपालिका सदस्य चुनिनु भएको थियो । वडाध्यक्ष सदनकुमार साँवाको मिति २०८२ साल असार १४ गते शनिवार मृत्यु भएको थियो । साँवाको मृत्यु भएपछि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सलिनालाई प्रदान गरिएको हो । साँवासंगै वडासदस्यमा निर्वाचित सलिना मिक्वाखोला गाउँ कार्यपालिका सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
कार्यपालिका भनेको सरकार हो । कार्यपालिकामा स्थानीय तहका प्रमुख वा अध्यक्ष,उपप्रमुख वा उपाध्यक्ष,सम्वन्धित स्थानीय तहमा रहेका वडाका वडाध्यक्ष र गाउँपालिकाको हकमा निर्वाचित महिला सदस्यमध्येबाट गाउँसभा सदस्यले निर्वाचित गरेका ४ जना महिला सदस्य र सम्वन्धित स्थानीय तहमा मतदाता नामावलीमा नाम रहेका दलित वा अल्पसंख्यकमध्ये गाउँसभा सदस्यले निर्वाचित गरेका २ जना सदस्य हुनेछन् । ५ वटा वडा रहेको मिक्वाखोला गाउँपालिकाको कार्यपालिका १३ सदस्यीय रहेको छ । कार्यपालिका सदस्य रहनु भएकी सलिनाले कार्यवाहक वडाध्यक्ष समेतको भूमिकामा अब कार्यपालिकामा प्रतिनिधित्व गर्नहुने छ ।
मिक्वाखोला गाउँपालिका वडा नं ४ मा सूर्यप्रसाद साँवा,फुतेञ्जी शेर्पा र मनकुमारी भुजेल वडा सदस्य रहनु भएको छ । ताप्लेजुङमा अहिले सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचामा कुमारी साउदेन मादेन वडाध्यक्ष रहनु भएको छ । उहाँ ताप्लेजुङका ६१ वटा वडामा निर्वाचित एक्ली महिला वडाध्यक्ष हुनुहुन्छ । सलिनाले कार्यवाहक वडाध्यक्ष पाएपछि उपनिर्वाचन भई अर्को व्यवस्था नभएसम्म अब वडाध्यक्षको रुपमा ताप्लेजुङमा दुई महिलाले नेतृत्व गर्नुहुने छ ।