ताप्लेजुङमा कुल मुद्दाको आधा सम्वन्ध बिच्छेदका मुद्दा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । ताप्लेजुङ जिल्ला अदालतका कुल मुद्दामध्ये झण्डै आधा मुद्दा सम्वन्ध बिच्छेदसंग सम्वन्धित देखिएका छन् ।

ताप्लेजुङ जिल्ला अदालतका सूचना अधिकारी बिष्णुकुमार राईका अनुसार आर्थिक बर्ष २०८०।८१ बाट आव २०८१।८२ का लागि जिम्मेवारी सरी आएका १ सय २७ सहित आव २०८०।८१ मा अदालतमा कुल ५ सय ७९ थान मुद्दा थिए । ति मध्ये २ सय ८० जना मुद्दा सम्वन्ध बिच्छेदका रहेको अदालतले जनाएको छ । सम्वन्ध बिच्छेदका २ सय ८० जना मुद्दामध्ये २ सय ३७ थान मुद्दा फर्स्यौट भएको छ भने ४३ थान मुद्दा चालु आवका लागि जिम्मेवारी सरी आएका छन् । मुद्दाको कुल संख्याका आधारमा सम्वन्ध बिच्छेद सम्वन्धी मुद्दा कुल मुद्दाको झण्डै ४९ प्रतिशत हाराहारी हुन आउँछ । आर्थिक बर्ष २०८१।८२ मा ताप्लेजुङ जिल्ला अदालतमा सो भन्दा अघिल्लो आवबाट जिम्मेवारी सरी आएका १ सय २७ सहित कुल ५ सय ७९ थान मुद्दा रहेका थिए ।

अदालतका अनुसार आव २०८१।८२ को एकबर्षे अवधिमा ४ सय २० थान मुद्दा फर्स्यौट गरी १ सय ५९ थान मुद्दा चालु आवका लागि जिम्मेवारी सरी आएका छन् । अब ताप्लेजुङ जिल्ला अदालतको इजलास भने आउँदो साउन १८ गतेबाट मात्र सुरु हुने छ । अदालतमा प्रयोग हुने रजिष्ट्रर व्यवस्थापन,आन्तरिक तयारी सहितको समग्र व्यवस्थापन कार्य पूरा भएपछि आउँदो साउन १८ गते आइतवारबाट अदालतको इजलास सुरु हुने जिल्ला न्यायाधीस विकास श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अदालतका सूचना अधिकारी राईले अदालतको दैनिक कार्य सञ्चालन साविक झैं नियमित हुने तर आन्तरिक तयारी र व्यवस्थापनमा लाग्नुपर्ने भएकोले इजलास भने साउन १८ गतेका दिनबाट सञ्चालन हुने जानकारी दिनुभयो ।
फैसला कार्यान्वयनतर्फ भने कममात्र प्रगति
निबेदन प्रतिबेदनतर्फको फर्स्यौटतर्फ सत प्रतिशत सफलता पाएको ताप्लेजुङ जिल्ला अदालतमा फैसला कार्यान्वयन अन्तरगत निबेदन र कैद तथा दण्ड जरीवाना दुबैतर्फ अपेक्षाकृत नतिजा नआएको देखिएको छ । जिल्ला अदालतका अनुसार फैसला कार्यान्वयनको निबेदनतर्फ १ सय ३ थान लगतमध्ये ६४ थान फर्स्यौट भई ३९ थान चालु आवका लागि जिम्मेवारी सरी आएका छन् ।

कैदतर्फ १ हजार २ सय ३७ बर्ष ५ महिना २ दिन असुल लगत रहेकोमा हालसम्म १ सय १९ बर्ष ६ महिना ४ दिन फर्स्यौट भएको छ । कैदतर्फ १ हजार १ सय १७ बर्ष १० महिना २८ दिन फर्स्यौट हुन बाँकी रहेको छ । जरीवानातर्फ कुल लगत ३ करोड ३७ लाख ४९ हजार २ सय २९ रुपैयाँ लगत रहेकोमा १५ लाख २९ हजार ९ सय ४७ रुपैयाँ फर्स्यौट भई ३ करोड ६१ लाख १९ हजार ३ सय ८२ रुपैयाँ फर्स्यौट हुन बाँकी रहेको छ ।

Similar Posts