असार सकिनलाग्दा ताप्लेजुङमा साढे ३९ प्रतिशत मात्र रोपाइँ

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ३० । ताप्लेजुङमा असार महिना सकिन लाग्दा साढे उनन्चालिस प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार असार अन्तिम साता अर्थात २९ गते सम्ममा कुल ३९.६३ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
ताप्लेजुङ हिमाली जिल्ला भएकाले जेठ महिनाको दोस्रो सातादेखि धान खेती (रोपाइँ) गर्न सुरु गरिन्छ । जेठ महिनादेखि नै रोपाइँ सुरु भए पनि पर्याप्त वर्षा नहुँदा यसवर्ष धान खेती हुने आधा क्षेत्रमा पनि रोपाइँ हुन सकेको छैन । कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी एवम् बाली संरक्षण अधिकृत शशीकुमार सिंहका अनुसार यसवर्ष पानीको अभावका कारण रोपाइँ गर्नमा समस्या रहेको छ ।
प्राय, वर्षा निरन्तर भइरहे पनि रोपाइँ गर्ने गरी पानी नपर्दा जिल्लाका किसानले समयमा खेती गर्न नपाएको अधिकृत सिंहको भनाइ छ । पानी अभावकै कारण असार महिना सकिन लाग्दासमेत ३९.६३ प्रतिशत मात्र धान रोपाइँ भएको सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार सिँचाइका लागि कुलो सञ्चालन हुने क्षेत्रमा मात्र रोपाइँ करिव अन्तिम भएको र कुलो नभएको अधिकांस क्षेत्रमा रोपाइँ गर्न बाँकी नै रहेको छ ।
अहिलेसम्म रोपाइँ नभएको जिल्लाको माथिल्लो भेगमा अब धान खेती गर्न पछुवा (ढिलो) हुने र तल्लो औल क्षेत्रमा भने साउन १५ सम्म रोपाइँ गर्न पाए राम्ररी नै धान फल्ने किसानको भनाइ छ । अधिकांस क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ हुने भएकाले खेतीमा संलग्न किसान पानीको मुल फुट्ने खालको वर्षाको पर्खाइमा रहेका छन् । अब पनि पर्याप्त वर्षा भएर पानीको मुल फुटेमा तल्लो बेँसी क्षेत्रमा रोपाइँ हुने किसानको भनाइ छ । उनीहरुका अनुसार पानी भएमा साउन १५ गतेसम्म करिव रोपाइँ सकिने र केही धेरथोरै बाँकी रहेमा साउन मसान्तसम्म नै रोपाइँ गर्न सकिने छ ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लाको कुल खेतजीयोग्य जमिन २७ हजार ५५१ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ६६६.३२ प्रतिशतमा धान खेती गर्ने गरिन्छ । जिल्लाका किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरेका छन् । यस्तै सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातको धान खेतीसमेत किसानले लगाउने गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।