वडाध्यक्षको अभिव्यक्तिप्रति आपत्ति उठाउँदै फुङलिङ नगरपालिकाका कर्मचारी ‘पेन डाउन’मा

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ११ । नगरसभामा कर्मचारीको उपस्थितिलाई फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपाने गलत परिभाषा गर्दै धम्कीपूर्ण गालीगलौज गरेको भन्दै बुधवार फुङलिङ नगरपालिकाका कर्मचारीले पेनडाउन गरेका छन् ।
नगरपालिकाका सबै कर्मचारी नगरपालिकाको कार्यालय अगाडि पेनडाउनमा बसेर दैनिक कामकाज ठप्प पारेका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले नगरसभा सफल बनाउन कर्मचारी आउनैपर्ने अवस्थामा पनि वडाध्यक्ष न्यौपानेले गलत मनशासयले कर्मचारी माथि धम्कीपूर्ण भाषा बोलेकोले बाध्य भएर पेन डाउन गर्नु परेको बताउनुभयो ।‘नगरसभा भनेको जनप्रतिनिधि मात्रै भेला हुने ठाउँ हो,यि कर्मचारीलाई कसले बोलायो,कसले पत्र लेख्यो भन्दै उहाँले धम्कीपूर्ण भाषा बोल्नु भयो’वडाध्यक्ष न्यौपानेप्रति संकेत गर्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले भन्नुभयो ।
मंगलवार फुङलिङ नगरपालिकाको १८ औं नगरसभा तथा बजेट अधिबेशन सकिएको छ । स्थानीय तहको सभाको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था नै छ । स्थानीय तहका सभाहरुमा कर्मचारीहरुले सभाको सचिवालयकै रुपमा समेत काम गर्नेगरी सभाध्यक्षले जिम्मेवारी पनि दिने गरेका छन् । नगरपालिकाका प्रवक्ता समेत रहनु भएका न्यौपानेले केहि समय अघि मात्र उक्त जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्नु भएको थियो । नगरसभामा भने न्यौपानेलाई सञ्चालकले प्रवक्ताकै रुपमा स्वागत मन्तव्य समेत राख्न दिनु भएको थियो । कर्मचारीले पेन डाउन गर्नुको कारण सहितको बिषयमा विज्ञप्ति जारी गरी प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई बुझाउने तयारी गरिरहेका छन् ।