समाजमा जातीय विभेद अझै कायम रहेको गुनासो

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ५ । ताप्लेजुङका दलित समुदायका अगुवाहरुले समाजमा अझै जातीय विभेद र छुवाछूत कायम रहेको गुनासो गरेका छन् । दलित समुदायले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद र छुवाछूतको खेपिरहनु परेको अगुवाहरूले गुनासो गरेका हुन् ।
जिल्लाको मेरिङ्देन गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रामा बिहीबार आयोजित कार्यक्रममा अझै पनि समाजमा जातीय विभेद र छुवाछूत रहेको दलित अगुवाले बताएका हुन् । ‘जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि मेरिङ्देन मिडिया सम्मेलन’ कार्यक्रममा दलित समुदायका अगुवा नेत्र नेपालीले समाज जातीय विभेद कायम रहेको बताउनुभयो ।
मेरिङ्देन गाउँपालिका–६ नाल्बु निवासी नेपालीले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि जातीय विभेद र छुवाछूत कायम रहनु दुःखद भएको गुनासो गर्नुभयो । जातीय विभेद र छुवाछूत गर्न नपाइने संविधानमै व्यवस्था हुँदा र विभेद गरे सजाय हुने ऐन तथा कानुनी व्यवस्था भए पनि कार्यान्वयन नभएको उहाँले बताउनुभयो । विभेद र छुवाछूत अन्त्यका लागि समाजमा सचेतनाको आवश्यक र संविधान तथा कानुनले दिएको अधिकारको दायराभित्र सबै रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मेरिङ्देन ५ थुकिमाका स्थानीय धनकुमार खातीले पनि समाजमा जातीय विभेद र छुवाछूत कायम रहेको बताउनुभयो । ऐन तथा कानुन विपरीत विभेद र छुवाछुतजन्य व्यवहार गर्नेलाई कारबाही गर्नुपर्नेमा नियमक निकाय मुकदर्शन हुने गरेकोमा दुःख व्यक्त गर्नुभयो । त्यस्तै मेरिङ्देन २ सान्थाक्राका दलित युवा विराज खातीले पनि अझैसम्म जातीय विभेद र छुवाछूतको अन्त्य नभएकोमा दुःखेसो गर्नुभयो ।
कार्यक्रममा सहभागी दलित समुदायका अगुवाले छुवाछूत र जातीय विभेद पहिलेजस्तो नभए पनि समाजमा विभेदजन्य व्यवहार अझै कायम रहेको उल्लेख गरेका छन् । नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको करिव २० वर्ष भइसक्दा पनि अझै जातीय विभेद कायम रहनु दुःखद पक्ष भएको स्थानीय दलित समुदायका अगुवा सूर्यमान बराइलीले बताउनुभयो ।
यता दलित समुदायका अगुवाले जातीय विभेद र छुवाछूत कायम रहेकाप्रति दुःखेसो पोख्दै गर्दा कार्यक्रमका प्रमुख वक्ता रहनुभएका कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले ऐन कानुनको व्यवस्था भन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण हुने बताउनुभयो । मन्त्री हाङगामले जातीय विभेद मात्र नभई अन्य विषयसम्बन्धी कानुनमा भएका व्यवस्थासमेत पूर्णरुपमा कार्यान्वयन नहुनु सकारात्मक पक्ष नभएको बताउनुभयो ।
मेरिङ्देनवासी भएको नाताले यहाँको दलितलक्षित कृषि, उद्यमसम्बन्धी योजनामा प्रदेशबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । दलित समुदायका लागि छुट्टै उद्यम सिर्जना गर्न साथै दलित समुदायको विकास र उन्नतिका लागि सधैं सहयोग गर्न तयार रहेको पनि प्रदेश मन्त्री हाङगामले बताउनुभयो । गाउँपालिका अध्यक्ष युकहाङबिर हाङगाम (डम्बर) ले पनि पालिकालाई छुवाछूत र विभेदमुक्त बनाउने अभियानमा आफू लागिपरेको बताउनुभयो । दलित समुदायलाई नै लक्षित गरी छुवाछूत र जातीय विभेद कसरी अन्त्य गर्न सकिन्छ भनेर साझा छलफलका लागि मिडिया सम्मेलन आयोजना गरिएको उहाँको भनाइ छ ।
मिडिया सम्मेलनमा कानुनमा छुवाछूत र विभेद, छुवाछूत र विभेद विषयमा धर्मगुरु, मेरिङ्देनमा जातीय विभेद र युवा पुस्ताले विभेद भोग्न नपरोस् भन्ने विषयमा छुट्टाछुट्टै प्यानल (समूह) बनाई छलफल गरिएको छ । समूहगत छलफलमा सम्बन्धित विषय र शीर्षकमा विज्ञ, अभियान्ता र जवाफदेही पक्षले आफ्नो धारणा राख्नुभएको थियो । उठेका सवालहरुमा जवाफदेही पक्ष, नियमक निकाय र सम्बन्धित विज्ञले जवाफ दिनुभएको थियो ।
कार्यक्रमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद सिरेङ चोङ्बाङ, ताप्लेजुङका प्रहरी प्रमुख वेदप्रसाद गौतम, जिल्ला कानुनी सहायता अधिकारी एवम् अधिवक्ता झरना आङ्देम्बे वक्ताको रुपमा सहभागी बन्नुभएको थियो । यस्तै वडाध्यक्षहरु, धार्मिक अभियान्ता, दलित युवा, शिक्षकलगायत वक्ता रहनुभएको थियो ।
जानकारी मिडिया प्रालिको सहजीकरण, जिल्ला प्रशासन कार्यालयको समन्वय र मेरिङ्देन गाउँपालिकाको आयोजनामा मिडिया सम्मेलन कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा मेरिङ्देन गाउँपालिकाभरी बसोबास गर्दै आएका ११६ दलित परिवारका प्रतिनिधिको सहभागिता रहेको थियो ।