पाथीभराबाट चौबिस लाख भेटी संकलन

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) बाट एक महिनाको अवधिमा करिव चौबिस करोड रुपियाँ भेटी संकलन भएको छ । पाथीभराबाट गएको जेठ महिनामा उक्त भेटी रकम संकलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार जेठ महिनामा कुल २३ लाख ९५ हजार रुपियाँ भेटी रकम संकलन भएको छ । समितिले आइतबार सार्वजनिक गरेको विवरण अनुसार जेठ महिनामा मात्र उक्त रकम बराबर भेटी संकलन भएको हो । पाथीभरा दर्शनमा आउने भक्तजनले चढाएको भटी तथा दान गरेको रकम समितिले संकलन गर्ने गरेको छ ।
समितिले पाथीभरामा भेटीबापत संकलन हुने रकम प्रत्येक महिना सार्वजनिक गर्ने गरेको छ । जेठ महिनामा संकलन भएको उक्त भेटी रकम पाथीभरा क्षेत्र विकास समितिको नेपाल बैंक लिमिटेडमा रहेको खातामा जम्मा (बचत) गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । हाङ्बाङका अनुसार जेठ महिनामा पाथीभरा दर्शन गर्ने भक्तजनको सङ्ख्या भने १६ हजार २१० रहेको छ ।
यसअघि वैशाख महिनामा पाथीभरामा ६१ लाख ९० हजार ८१५ रुपियाँ भेटी रकम संकलन भएको थियो । त्यस्तै सो महिनामा ३८ हजार १७० जना भक्तजनले पाथीभरा दर्शन गरेका समितिको तथ्यांक रहेको छ । समितिका अनुसार पाथीभरा दर्शनका लागि नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट भक्तजन आउने गरेका छन् ।