पाथीभरा क्षेत्रमा क्षेत्र विकास समितिसंग पूर्व स्वीकृति नलिई वा समन्वय नगरी कुनै गतिविधि र संरचना निर्माण गर्न नपाइने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २७ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्र भनी सीमाङ्कन भएको क्षेत्रमा विकास समितिको पूर्व स्वीकृति वा समन्वय बिना कुनै कार्यक्रम गर्न वा संरचना निर्माण गर्नमा प्रतिवन्ध गर्ने निर्णय गरेको छ ।

क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेको अध्यक्षतामा मंगलवार बसेको बैठकले उक्त निर्णय गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो । हाङवाङका अनुसार पाथीभरा क्षेत्र भनी सीमाङ्कन भएको क्षेत्रभित्र व्यक्तिगत वा संस्थागत हिसावले कुनैपनि कार्यक्रम गर्नुपर्ने वा संरचना निर्माण गर्नुपर्ने भएमा पाथीभरा क्षेत्र विकास समितिको पूर्व स्वीकृति वा आवश्यक समन्वय गर्नुपर्ने छ । क्षेत्र विकास समितिले पूर्व स्वीकृति वा आवश्यक समन्वय बेगर आफुखुसी गरे कानुन बमोजिम हुने निर्णय समेत गरेको हाङवाङले जानकारी दिनुभयो ।

पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३(पहिलो संशोधन २०७५) ले पाथीभरा क्षेत्रको सीमाङ्कन प्रष्ट्याको छ । जस अनुसार पूर्वमा सिरिजङ्गा गाउँपालिका वडा नं ३ को हर्कटेडाँडालाई भित्रपारी फुङलिङ नगरपालिकाको वडा नं ११ फावाखोलाको सिम्बुसम्मको सम्पूर्ण क्षेत्र,फक्ताङलुङ गाउँपालिकाको वडा नं ३ लिङखिम र वडा नं ५ तापेथोकको पाथीभरा मन्दिरबाट तीन किलोमिटर क्षेत्रको सम्पूर्ण क्षेत्रभित्रको सम्पूर्ण क्षेत्र पाथीभरा क्षेत्रकमा पर्ने छ ।

उत्तरमा फक्ताङलुङ गाउँपालिकाको वडा नं ४ र सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ र वडा नं ६ को सिमाना क्षेत्रभित्रको सम्पूर्ण क्षेत्र तथा दक्षिणमा फुङलिङ नगरपालिकाको वडा नं १० को फुरुम्बु गढीडाँडा,वडा नं ९ को देउराली,वडा नं ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक गाउँपालिकाको वडा नं ३ को दुधिले पश्चिम फुङलिङ नगरपालिकाको सिमानाको सम्पूर्ण क्षेत्रलाई पाथीभरा क्षेत्र विकास समिति गठन आदेशले पाथीभरा क्षेत्र भनी निर्धारण गरेको छ ।

कोशी प्रदेश सरकारको पर्यटन,वन तथा वातावरण मन्त्रालयले तयार पारेको गठन आदेशमा भनी पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ ले तोकेको सीमा झैं पाथीभरा क्षेत्रको सीमाक्षेत्र तोकेको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा सहलगानी लिफ्टिङ खानेपानी आयोजनाको अवस्थाबारे खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामसंग प्राविधिक लगत इष्टिमेट,नापी किताव र कार्य सम्पन्न भएको भए कार्य सम्पन्न प्रतिबेदन समेत माग गर्ने निर्णय समेत गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिमले पाथीभभरा क्षेत्रको अहिले निर्धारण भएको सीमाङ्कन अव्यवाहारिक रहेको भन्दै यसका बारेमा विज्ञटोलीद्धारा थप अनुसन्धान गरी पुनरावलोकन गर्न प्रस्ताव अघि सार्नु भएको छ । क्षेत्र विकास समितिका अध्यक्ष थेबेका अनुसार सीमाङ्कन सम्वन्धमा उठेको बिषयलाई थप परार्मश गरी विज्ञटोलीमार्फत विस्तृत अध्ययन तथा सुझाव सिफारिसका लागि क्षेत्र विकास समितिले कार्यदल समेत बनाएको छ । कार्यदलमार्फत छलफल र आवश्यक प्रकृया अघि बढाउने तयारी भइरहेको कार्यकारी निर्देशक हाङवाङले बताउनुभयो ।

Similar Posts