प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ताप्लेजुङले जित्यो १ स्वर्ण सहित ११ पदक

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २७ । ताप्लेजुङ जिल्लाबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएका खेलाडीमध्ये १ जनाले स्वर्ण पदक प्राप्त गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बूका अनुसार मैवाखोलाका समिर लिम्बूले तीन हजार मिटर दौडमा स्वर्ण पदक प्राप्त गरेका हुन् । कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ताप्लेजुङले १ स्वर्ण सहित ११ पदक हाँसिल गरेको छ । ४ जना खेलाडीले राष्ट्रिय स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने भएका छन् ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष लिम्बूका अनुसार राष्ट्रिय स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन छनौट भएका ताप्लेजुङका खेलाडीहरुमा स्वर्ण पदक विजेता समिर सहित एथलेटिक्सतर्फ सविन विक,भलिबलतर्फ कैलाश लिम्बू र कबड्डीतर्फ मनिता तामाङ रहेका छन् ।
ताप्लेजुङले १ स्वर्ण,६ रजत र ४ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।