याक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै सिरिजङ्गा: पालिकाले ५० देखि ८५ प्रतिशतसम्म लागत साझेदारी गर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले याक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गत बैशाख १३ देखि १५ गते सम्म सिरिजङ्गा गाउँपालिका वार्ड नं ८ याम्फुदिनको नयाँ झोरेनीमा सम्पन्न सिरिजङ्गा महोत्सवका बेला पालिकाले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङसंगको सहकार्यमा चौंरी प्रतियोगिता सम्पन्न गरेको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेका अनुसार चालु बर्षका लागि याक प्रवद्र्धन कार्यक्रमका लागि ८ लाख रुपैयाँ बजेट रहेको छ । कृषक,कृषक समूह,सहकारी संस्था,समिति र निजी संस्थाहरुले याक प्रवद्र्धन कार्यक्रममा सहभागी हुन पाउने र यसपटक ८ लाख रुपैयाँ बजेटबाट दुईवटा संस्था वा समूह छनौट गरिने पालिकाले जनाएको छ । यसअघि फक्ताङलुङ गाउँपालिकाले याक चौंरी प्रवद्र्धनमा सहभागी हुन आवह्वान गरिसकेको छ ।

पालिकाले पशुपंक्षि तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्वन्धी कार्यविधि २०८१ को अधिनमा रही याक प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । कृषक समूह,सहकारी,उपभोक्ता समिति र तिनमा आवद्ध कृषक समुदायबाट निर्माण हुने सामुदायिक प्रयोजनका पशुपंक्षि तथा मत्स्य विकास पूर्वाधारको हकमा अधिकतम् ८५ प्रतिशत र निजी एवम् व्यवसायिक प्रयोजनका पशुपंक्षि तथा मत्स्य पूर्वाधार तथा अन्यको हकमा अधिकतम् ५० प्रतिशत लागत साभेदारी हुने पालिकाले जनाएको छ । याक प्रवद्र्धन कार्यक्रममा सहभागी हुन चाहनेले जेठ १० गते भित्र कार्यालयमा आबेदन गरिसक्नुपर्ने भएको छ ।

निबेदकले निबेदनका साथ वडाको सिफारिस,कार्यक्रम सञ्चालन परियोजना प्रस्तावना,जग्गाधनी पूर्जाको प्रतिलिपि वा भाडामा लिएको भए सम्झौताको प्रतिलिपि,नागरिकता प्रमाणपत्रको प्रतिलिपि,समूह भए उक्त समूहको निर्णयप्रति समेत संलग्न राखी पालिकामा आबेदन गर्नुपर्ने हुन्छ । ताप्लेजुङको उत्तरी क्षेत्रका याक तथा चौंरी पालनको बलियो सम्भावना रहेको छ । सिरिजङ्गा गाउँपालिका,फक्ताङलुङ गाउँपालिका सिदिङ्वा गाउँपालिका र मिक्वाखोला गाउँपालिका क्षेत्र याक पालनका लागि राम्रो सम्भावना भएको क्षेत्रमा गनिन्छ ।

 

Similar Posts