पर्यटन भ्रमणबर्ष छलफलमा मेयर मादेनको दावी:कोशीका एक मन्त्री र दुई पूर्वमन्त्री पाथीभरा केवलकारको विपक्षमा !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३१ । लामो समयदेखि पाथीभरामा केवलकार बनाउनुपर्ने पक्षमा अडान राख्दै आउनु भएका फुङलिङ नगरप्रमुख अमिर मादेनले कोशीका बहालवाला मन्त्री र पूर्व दुईमन्त्री केवलकार बनाउन नहुने पक्षमा रहेको दावी गर्नु भएको छ । केवलकार बनाएर पाथीभरामा दर्शनार्थी थप्नुपर्ने र तिनै दर्शनार्थीलाई ताप्लेजुङका अन्य पर्यटकिय क्षेत्रमा समेत लैजान सकिने वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको मादेनले बताउनुभयो ।

पर्यटन बर्ष २०८२ को अवसरमा पर्यटन कार्यालय काकडभिट्टाले फुङलिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख मादेनले नामै तोकेर कोशीका वहालवाला मन्त्री खगेनसिंह हाङ्गाम,पूर्वमन्त्री तथा प्रदेशसभा सदस्यद्धय तिलकुमार मेन्याङ्वो र निर्मला तावा केवलकार बनाउन नहुने अडानमा रहेको दावी गर्नुभयो । आफुभन्दा पहिले बोल्नु भएका जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधिले केवलकारको बिषयमा नबोलेको भन्दै नगरप्रमुख मादेनले रोष प्रकट गर्नुभयो । ‘यत्रो विकासको कुरा छ,न जनप्रतिनिधि बोल्छ,नत संघसंस्थाका व्यक्ति बोल्छन्’नगरप्रमुख मादेनले भन्नुभयो । उहाँभन्दा अघि मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर) हाङगाम,पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले बोल्नु भएको थियो ।

केवलकार बनाउनुपर्ने आफ्नो मत प्रकट गर्दा पार्टीले कारवाही गरे सहने नगरप्रमुख मादेनको भनाई थियो । माओवादी केन्द्रकै मन्त्रीका पालामा केवलकार बनाउने बिषय सुरु भएको तर माओवादीलेपनि पछि केवलकारका बिषयमा दोधारे अभिव्यक्ति दिन थालेको मादेनको दावी थियो । मादेनले यो बिषय उठाएपछि संगै रहनु भएका काँग्रेस ताप्लेजुङका सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष हाङगामले ‘बिषय केन्द्रित गरेर बोलौं न !’ भन्नु भएको थियो । नगरप्रमुख मादेनले‘यो बिषयले पर्यटन छुदैन र,छुन्छ नी’भन्नुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति छिरिङ लामाले प्रदेशभरीका पर्यटकिय क्षेत्रलाई महत्वका साथ प्राथमिकता दिएर अघि बढ्न सकेमा मात्र पर्यटन भ्रमणबर्ष सफल हुने बताउनुभयो ।

मेरिङदेन गाउँपालिका अध्यक्ष हाङगामले पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको ताप्लेजुङका पर्यटकिय गन्तव्यलाई कोशी प्रदेश सरकारले उचित रुपले सम्बोधन नगरेको दुःखेसो पोख्नुभयो । पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष सुब्बाले भौतिक चिजबस्तु मात्र पर्यटनको आधार नहुने बताउँदै संस्कार र संस्कृतिलाई समेत आधार मानेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । मिक्वाखोला गाउँपालिका अध्यक्ष कार्कीले फुङफुङ्गे झरना,लोदेन क्षेत्र,मिल्के–जलजले सहितका प्रसिद्ध पर्यटकिय स्थलका बारेमा कोशी सरकारले महत्व नदिएकोले प्रदेश सरकारले अवधारणा सच्याउनुपर्ने बताउनुभयो । मैवाखोला गाउँपालिकाका प्रवक्ता तामाङले गुराँसै नफुलेको क्षेत्रमा पर्यटन भ्रमणबर्षको उद्घाटन गर्नुको साटो गुराँस फूलेर राताम्मे भएको मैवाखोला गाउँपालिका क्षेत्रमा कार्यक्रम गरेको भए के हुन्थ्यो ? भनेर प्रश्न गर्नुभयो ।

कार्यक्रममा कृषि पर्यटनलाई समेत पर्यटन मेरुदण्डको आधार बनाउनुपर्ने बिषयले समेत प्रवेश पाएको थियो । पर्यटन क्षेत्रमा सम्वद्ध पाथीभरा क्षेत्र विकास समिति,होटल व्यवसायी संघ,उद्यमी,होमस्टे सञ्चालक सहितले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमका अध्यक्ष तथा कोशी प्रदेश पर्यटन बर्ष २०८२ निर्देशक समितिका सहसंयोजक कृष्ण शाहले आफुहरु २०८२ सालको कार्यक्रमका बिषयमा कोरा मात्र रहेको बताउँदै प्रदेशभरीका जिल्ला दौडाहामार्फत सुझाव संकलन गरी सोहि आधारमा कार्यक्रम तय गर्ने योजनामा रहेको बताउनुभयो । कार्यक्रममा पर्यटन कार्यालय काकडभिट्टाका प्रमुख छबिलाल खतिवडाले कोशी प्रदेशका पर्यटन क्षेत्रका सम्भावना,अवसर र चुनौति बिषयमा प्रस्तुति राख्नु भएको थियो ।

 

Similar Posts