हराएको झण्डै डेढबर्षपछि बोरामा पोको पारी पुरिएको अवस्थामा भेटिए पार्टीडाँडा माविका ८ थान ल्यापटप

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३१ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका वडा नं ५ स्थित पार्टीडाँडा माध्यमिक बिद्यालयबाट हराएका ८ थान ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला परेका छन् ।

सोहि वडाको पित्तोलुङ भन्ने स्थानमा बोरामा पोको पारी पुरिएको अवस्थामा ८ थान ल्यापटप फेला परेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । पालिका अध्यक्ष वनेमका अनुसार २०८० साल पुस २२ गते राति बिद्यालयको ढोका फोरेर बिद्यालयका ११ वटा ल्यापटप चोरी भएको थियो । उहाँका अनुसार चोरी भएका ल्यापटप खोजी गर्ने क्रममा हराएको केहि दिनमै ३ वटा ल्यापटप फेला पारिएको थियो भने बाँकी फेला पार्न सकिएको थिएन ।

ह्युमन प्राक्टिस फाउण्डेसन(एचपिएफ)ले आईसिटी कक्ष स्थापनार्थ शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तरगत बिद्यालयलाई उक्त ल्यापटप हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको केहि समयमै बिद्यालय फोरेर ल्यापटप चोरी भएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । प्रहरी,वडाध्यक्ष,बिद्यालयका प्रधानाध्यापक र स्थानीय बासिन्दाले खोजतलासका क्रममा उक्त ल्यापटप फेला पारेको मैवाखोलाले जनाएको छ । पालिका अध्यक्ष वनेमले उक्त घटनामा संलग्नहरुको खोजी गरी सार्वजनिक गर्न र कानुन अनुसार कारवाही प्रकृया अघि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

Similar Posts