पाँचथरको यासोकमा आँखा स्वास्थ्य शिविर सम्पन्न,३३ जनाको आँखाको शल्यकृया,झण्डै ५ सयले लिए सेवा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २७ । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित यासोक बजारमा सञ्चालित शल्यकृया सहितको दुईदिने निःशुल्क आँखा शिविरमा ३३ जनाको आँखाको शल्यकृया भएको छ ।

शल्यकृया भएकामध्ये ११ महिला र ११ पुरुष गरी २२ जनाको मोतियाबिन्दुको शल्यकृया भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेले जानकारी दिनुभयो । शिविरमा ६ पुरुष र ५ महिलाको आँखाको साधारण शल्यकृया गरिएको समेत थेबेले बताउनुभयो । शिविरमा १ सय ७० जना लाभग्राहीलाई नेपाल नेत्रज्योति संघ ताप्लेजुङले निःशुल्क रुपमा पढ्न मिल्ने(रिडिङ) चश्मा उपलब्ध गराएको छ । आँखाका रोगीहरुलाई आवश्यक पर्ने औषधि कुम्मायक गाउँपालिकाले निःशुल्क रुपमा उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालले जानकारी दिनुभयो ।

शिविरमा मेची आँखा अस्पताल बिर्तामोडका चिकित्सक डाक्टर अशेष कोईरालाको नेतृत्वमा १० जना तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङ र कुम्मायक आँखा उपचार केन्द्रका पाँचथरका प्राविधिक जनशक्ति खटिनु भएको थियो । दुईदिने शिविरमा २ सय ५८ पुरुष र २ सय २६ महिला गरी कुल ४ सय ८४ जनाले आँखाको परीक्षण तथा उपचार गराएको कुम्मायक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज शान्ति तामाङले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ र कुम्मायक गाउँपालिकाले सेवा फाउण्डेसन काठमाडौंसंगको सहकार्यमा शिविरको आयोजना गरेको हो । शिविरमा खटिने प्राविधिक तथा चिकित्सकको खाना तथा आवासको व्यवस्था कुम्मायक गाउँपालिकाले गरेको थियो । शिविरअघि कुम्मायक गाउँपालिकाको केन्द्र रहेको वडा नं २ बाहेक पालिकाका अरु ४ वटा वडामा पुगेर आँखा प्राविधिकहरुले मोतियाबिन्दुका बिरामीको छनौट तथा आँखाका रोगीहरुको परीक्षण तथा उपचार गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङले कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कुम्मायक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले ताप्लेजुङको फुङलिङ र दोभान तथा पाँचथरको यासोक र थर्पु बजारमा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । दोभान आँखा उपचार केन्द्र मेरिङदेन र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक साझेदारीमा सञ्चालनमा छ । थर्पुमा रहेको आँखा उपचार केन्द्र पाँचथरको याङवरक गाउँपालिकाको आर्थिक साझेदारीमा सञ्चालनमा रहेको छ । आँखा उपचार केन्द्र भएका प्रत्येक स्थानमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले सम्वन्धित पालिका र सेवा फाउण्डेसनसंग मिलेर बर्षमा कम्तिमा एकपटक शल्यकृया सहितको आँखा स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो ।

Similar Posts