प्रजातन्त्र सेनानी तथा पूर्वमन्त्री गुरुङको प्रथम स्मृतिसभा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २५ । प्रजातन्त्र सेनानी,नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री सूर्यमान गुरुङको प्रथम स्मृतिसभा बिहीबार ताप्लेजुङको फुङलिङ नगरपालिका स्थित उहाँकै घर फूलपातेडाँडामा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु र काँग्रेसका बिभिन्न तहका नेता कार्यकर्ता र सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा प्रथम स्मृतिसभा सम्पन्न भएको हो । नेपाली काँग्रेस ताप्लेजुङले स्मृतिसभाको आयोजना गरेको थियो । काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले प्रजातन्त्रको स्थापनाका एक हकदार तथा लोकतान्त्रिक आन्दोलनका अगुवा गुरुङका योगदानको स्मरण गर्दै प्रथम स्मृतिसभाको आयोजना जिल्ला कार्य समितिले गरेको बताउनुभयो ।

सभालाई सम्बोधन गर्ने अधिकाँस वक्ताले स्वर्गीय गुरुङले नेपालको प्रजातान्त्रिक तथा राजनीतिकआन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँका असल मार्गदर्शन आजको राजनीतिक परिवेशमा समेत उपयोग गर्न लायक रहेको बताउनुभयो । विक्रम सम्वत् १९९८ साल बैशाख १० गते जन्मिनु भएका गुरुङको २०८१ साल बैशाख २५ गते निधन भएको थियो । २०१५ सालको नेपालको पहिलो आम निर्वाचनमा गुरुङ कांग्रेसको प्रचारप्रसार विभागको जिम्मेवारीमा हुनुहुन्थ्यो । गुरुङले २०१८ सालमा काँग्रेसले गरेको सशस्त्र आन्दोलनका क्रममा ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गर्नु भएको थियो । गुरुङको नेतृत्वमा २०१८ साल चैत्र १७ गते सदरमुकाम फुङलिङमा रहेको प्रहरी ठाना कब्जा भएको थियो ।

प्रहरी ठाना कब्जापछि त्यही बेलादेखि भूमिगत हुनुभएका गुरुङ भारत निर्वासनमा बस्नु भएको थियो । २०३६ सालमा आममाफी पाएपछि गुरुङ नेपाल फर्किनु भएको थियो । २०३६ सालमा भएको कांग्रेस भेलामा एउटा समूह फुटेर पञ्चायतमा भाग लिने पक्षमा उभियो । गुरुङ सोहि समूमा रहेर पञ्चायत राजनीतिमा सक्रिय हुनुभयो । गुरुङ २०३९ सालदेखि २०४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको (हालको जिल्ला समन्वय समिति)सभापति हुनुहुन्थ्यो । २०४६ सालमा प्रजातन्त्र आएपछि उहाँले कांग्रेसमै बसेर राजनीतिलाई निरन्तरता दिनुभयो । २०६४ सालको निर्वाचनमा माओवादीका राम कार्की(पार्थ)लाई पराजित गरेर गुरुङ ताप्लेजुङको निर्वाचन क्षेत्र नं १ बाट संबिधानसभाको सदस्य बन्नुभयो ।

२०७० सालमा समानुपातिकतर्फबाट संबिधानसभा सदस्य हुनुभएका गुरुङ २०७३ सालमा एकपटक श्रम तथा रोजगार मन्त्री तथा एकपटक स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री बन्नुभयो । उहाँ लामो समयसम्म नेपाली काँग्रेसको ताप्लेजुङको सभापति बन्नु भएको थियो । काँग्रेसको केन्द्रीय सदस्य समेत हुनु भएका गुरुङ काँग्रेसको भातृ संस्था लोकतान्त्रिक जनजाति महासंघका पूर्व केन्द्रीय सभापति समेत हुनुहुन्छ । सादगी जीवन,हाँसो ठट्टालाई मन पराउने गुरुङ संगठन निर्माण र कार्यकर्ता परिचालनमा भने काविल मानिनुहुन्थ्यो ।

राजनीतिक जीवनका साथ उहाँको सक्रियता सामाजिक जीवनमा समेत लोभलाग्दो थियो । गुरुङ आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका संस्थापक संयोजक(२०४९) समेत हुनुहुन्छ । बेलायतमा बस्ने उहाँका छोरा इन्द्रमान र अमेरिकामा बस्ने अर्का छोरा लोचन तथा छोरी छूनु बाबुको प्रथम स्मृतिसभाको कार्यक्रमका लागि जन्मघर फुङलिङ आउनु भएको छ । इन्द्रमान स्वर्गीय बुबाको राजनीतिक बिरासतलाई पछ्याउँदै अहिले काँग्रेस निकट नेपाल–बेलायत जनसम्पर्क समितिका उपसभापति हुनुहुन्छ । गुरुङको परिवारले उपत्यकास्थित आफ्नै घर परिसरमा स्वर्गीय गुरुङको अर्धकदको शालिक निर्माण गरी त्यसको अनावरण समेत गर्नु भएको छ ।

Similar Posts