भारतीय राजदूत श्रीवास्तव ताप्लेजुङ आउँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २३ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव ताप्लेजुङ आउने हुनु भएको छ । उहाँ मंगलवार(आज)अपरान्ह ताप्लेजुङ आईपुग्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

राजदूत श्रीवास्तवले ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका जनप्रतिनिधि र प्रशासन प्रमुखसंग भेट्ने कार्यतालिका रहेको छ ।‘सुरुमा त उहाँ मिक्वाखोला नै आउने कुरा थियो,तर पछि तालिका परिवर्तन भएको खबर छ’मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमले भन्नुभयो । उहाँले राजदूत श्रीवास्तवसंगको भेटका लागि मिक्वाखोला गाउँपालिकाको टोली सदरमुकाम फुङलिङ आउँदै गरेको जानकारी दिनुभयो । मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित साँवा माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुनेगरि यसअघि नै सम्झौता भइसकेको छ । भारत सरकार र मिक्वाखोला गाउँपालिकाको लागत साझेदारीमा विद्यालय भवन निर्माण हुने भएको हो ।

भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक परियोजना (एचआईसिडिपिएस) मार्फत विद्यालय भवन निर्माण गर्न लागिएको हो । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार १२ कोठा भएको तीनतले विद्यालय भवन निर्माण हुनेगरी सम्झौता भइसकेको छ । सोहि सम्झौता सहितका बिभिन्न बिषयमा छलफल गर्न श्रीवास्तव ताप्लेजुङ आउन लागेको बताइन्छ । भारत सरकारको सहयोगमा ४ करोड २९ लाख ११ हजार २ सय ९० रुपैयाँको लागतमा उक्त भवन निर्माण हुने सम्झौता छ । विद्यालय भवन निर्माण गर्न लाग्ने कुल लागत रकममध्ये पाँच प्रतिशत गाउँपालिकाले व्यहोर्नेछ ।

Similar Posts