प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि संसद् छिर्दै वामदेव

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ ३० । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने हुनु भएको छ  । मन्त्रिपरिषद्ले सोमबार उहाँलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सिफारिस गर्ने प्रस्ताव गर्नु भएको थियो । ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभाको एक सिट फागुनदेखि खाली छ, वामदेवजीलाई सिफारिस गरौं भन्नुभयो,’ एक मन्त्रीले भने, ‘त्यसमा कसैको विरोध रहेन । प्रस्ताव पारित भयो ।’ गौतमको मनोनयनका लागि सम्भवतः मंगलबार प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्र पठाउनेछ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम उहाँलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नेछिन् अनि प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि गौतम संसद् छिर्नु हुने छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको समयावधि गत फागुन २१ गते सकिने भएपछि फागुन १४ गतेको नेकपा सचिवालय बैठकले गौतमलाई मनोनीत कोटाबाट राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । तर प्रधानमन्त्री ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहनु भएको थियो । बरु खतिवडाले संसद् सदस्य नभए पनि संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि अर्थमन्त्रीमा पुनर्नियुक्ति पाउनु भयो । नेकपाले वैशाख २० गते गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पछिल्लोपटक प्रधानमन्त्री ओलीले गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न आग्रह गर्नु भएको थियो । तर गौतमले आफू राष्ट्रिय सभा सदस्य बन्ने मनस्थितिमै रहेको बताउनु भएको थियो । उहाँलाई सचिवालयका अधिकांश सदस्यहरूको साथ पनि थियो । खतिवडालाई नै निरन्तरता दिन चाहे पनि बन्दै गरेको शक्ति सन्तुलन यही कारणले नगुमाउन प्रधानमन्त्री ओली पनि गौतमलाई नै मनोनयन कोटाबाट राष्ट्रिय सभामा पठाउने निर्णयमा पुग्नु भएको थियो । भदौ १८ को सचिवालय बैठकमा मनोनीत कोटामा गौतमलाई लैजाने जानकारी प्रधानमन्त्री ओलीले गराउनु भएको थियो । तर आइतबारसम्म पनि गौतमलाई राष्ट्रिय सभामा जानभन्दा प्रतिनिधिसभा सदस्यमै उठ्न उपयुक्त हुन्छ भन्ने सल्लाह बालुवाटारको थियो । गौतम नमानेपछि सोमबारको मन्त्रिपरिषद्ले सिफारिस गर्ने निर्णय गरेको हो ।
घिसिङ पुनर्नियुक्तिको प्रस्तावै गएन
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्ने चर्चाका बाबजुद त्यो प्रस्ताव भने मन्त्रिपरिषद् बैठकमा पेस भएन । यसअघि ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयले घिसिङलाई पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा जाँदै छ भनेर जानकारी गराएको थियो । ‘उहाँको पुनर्नियुक्तिबारे सम्बन्धित मन्त्रालयबाटै प्रस्ताव आएन, त्यसपछि छलफल पनि भएन,’ एक मन्त्रीले भने, ‘सामान्य कुरा भने उठेको थियो । चारवर्षे कार्यकाल सकेर घिसिङ सोमबार मात्रै पदमुक्त हुनु भएको छ । लोडसेडिङ अन्त्यका लागि महत्त्वपूर्ण काम गरेको भन्दै उनलाई फेरि नियुक्त गर्नुपर्ने आवाज उठिरहेको छ ।
‘स्वस्थ रहने हो भने आयुर्वेदिक उपचार’
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ रहने हो भने आयुर्वेदिक उपचार पद्धतितिर लाग्नुपर्ने बताउनु भएको छ । मन्त्रिपरिषद् बैठकमा उहाँले आयुर्वेदिक उपचार विधि पद्धति र यसका फाइदारबेफाइदाबारे व्याख्या गर्नु भएको छ । ‘स्वस्थ रहने हो भने आयुर्वेदिक उपचारतिर लाग्नुप¥यो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘बिरामी हुँदै औषधि खाँदै अस्पताल जाँदै गर्ने हो भने एलोपेथिक उपचार गर्न प¥यो ।’ उहाँले आयुर्वेदिक औषधिमा इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) बढाउने र त्यसमा भाइरस कम गर्ने तत्व बढी रहेको आफूले पाएको पनि बताउनु भएको थियो । नयाँ अस्पताल खोल्नेसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्तावका सन्दर्भमा धारणा राख्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक उपचार पद्धति भरपर्दो र विश्वासिलो रहेको बताउनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts