तेह्रथुमको लालीगुराँस नगरपालिकाद्धारा कृषि एम्बुलेन्स सञ्चालनमा,किसानका घरमै पुगेर तरकारी खरिद गरिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २० । तेह्रथुमको लालीगुराँस नगरपालिकाले पालिकाभरीका किसानले उत्पादन गरेको अर्गानिक तरकारी र फलफूल घर–घरमै गएर खरिद गर्नेगरी कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

नगरप्रमुख अर्जुन मावुहाङका अनुसार कृषि एम्बुलेन्सले पालिकाभरीका किसानले उत्पादन गरेको तरकारी र फलफूल प्रत्येक किसानका घर–घरमा हप्तामा एकपटक पुगेर संकलन गरी बजारमा पुर्‍याउने छ । हप्तामा एक कृषकको ५ हजार मूल्य बराबरको तरकारी र फलफूल पालिकाको कृषि एम्बुलेन्सले खरिद गर्ने नगरप्रमुख मावुहाङले जानकारी दिनुभयो । तत्काललाई नगरपालिकाले एउटा कृषि एम्बुलेन्स प्रयोगमा ल्याएको छ । यो कार्य सफल भए नगरपालिकाले आगामी आर्थिक बर्षको सुरुमै अर्को कृषि एम्बुलेन्स समेत खरिद गर्ने योजना बनाएको मावुहाङले जानकारी दिनुभयो । पालिकाले तरकारी तथा फलफूल बिक्रीवापतको रकम प्रत्येक घरका गृहिणीलाई भुक्तानी गर्ने भएको छ ।

नगरपालिका क्षेत्रका किसानका घर–घरमा हिउँद र बर्षा दुबै याममा सवारी पुग्ने अवस्था रहेकोले घर–घरमै पुगेर किसानको उत्पादन खरिद गर्न समस्या नभएको नगरप्रमुख मावुहाङले जानकारी दिनुभयो । आफुले उत्पादन गरेको कृषिउपजको सडक पहुँच नभएको समस्या भएको भए आफुहरुलाई जानकारी दिन समेत नगरप्रमुख मावुहाङले किसानलाई आग्रह गर्नु भएको छ । कृषि एम्बुलेन्स तालिका मिलाएर हप्तामा एकपटक तरकारी र फलफूल उत्पादन गर्ने प्रत्येक कृषकका घरमा पुग्नेगरिको प्रवन्ध गरिएको समेत उहाँले बताउनुभयो । तर किसानसंग बिक्रीयोग्य सामग्री भने पर्याप्त मात्रामा हुनुपर्ने समेत उहाँले बताउनुभयो ।

विकासे मल लगाएको,किटनाशक औषधिप्रयोग भएको तरकारी र फलफूल भने कृषि एम्बुलेन्सले खरिद नगर्ने भएको छ । नगरपालिकाले यसअघि नै युरिया,डिएपी र किटनाशक औषधिमा प्रतिवन्ध लगाईसकेकोले आफुहरुले विकासेमल र किटनाशक औषधि प्रयोग भएका कृषिजन्य उत्पादन खरिद नगर्ने नगरप्रमुख मावुहाङले जानकारी दिनुभयो । नगरपालिकाले घरेलु तथा जैविक मल र बिषादी प्रयोगमा जोड समेत दिएको छ ।

 

Similar Posts