पाँचथरको कुम्मायकमा बैशाख २५ र २६ गते शल्यकृया सहितको आँखा शिविर

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २० । पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारमा यही बैशाख २५ र २६ गते शल्यकृया सहितको दुईदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

कुम्मायक गाउँपालिका र सेवा फाउण्डेसनसंगको साझेदारीमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले शिविरको आयोजना गरेको हो । शिविरमा मोतियाबिन्दुका बिरामीहरुको आँखाको शल्यकृया गरिने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । शिविर अघि कुम्मायक गाउँपालिकाका वडा नं १,२,३ र ५ नम्बर वडामा पुगेर आँखाका रोगीहरुको परीक्षण शिविर सञ्चालन गर्ने कार्यतालिका रहेको नेपाल नेत्रज्योति संघद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेले जानकारी दिनुभयो । थेबेको नेतृत्वमा पुगेको आँखा प्राविधिकहरुको टोलीले अहिले कुम्मायक गाउँपालिकाका प्रत्येक वडामा पुगेर आँखाका रोगीहरुको परीक्षण तथा मोतियाबिन्दुका बिरामीको पहिचान गरिरहेको छ ।

पहिचान गरिएका मोतियाबिन्दुका बिरामीहरुलाई पालिकाको केन्द्र यासोकमा बैशाख २५ र २६ गते हुने शल्यकृया शिविरमा केन्द्रित गरी उनीहरुको आँखाको शल्यकृया गर्ने योजना रहेको छ । ५ वटा वडा रहेको गाउँपालिकाको वडा नं ४ यासोक बजार नजिक रहेको र त्यहाँका आँखाका रोगीहरुले शल्यकृया सहितको शिविर हुने समयमै आँखाको परीक्षण र उपचार गराउन सक्ने भएकोले वडा नं ४ बाहेक गाउँपालिकाका सबै वडाहरुमा परीक्षण तथा उपचार शिविर सुरु गरिएको थेबेले जानकारी दिनुभयो । कुम्मायक आँखा उपचार केन्द्रका क्लिनिक ईञ्चार्ज शान्ति तामाङका अनुसार कुम्मायक गाउँपालिकाका रहेका बिद्यालयहरुमा पुगी यसअघि नै स्कुल स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिसकिएको छ ।

शिविरमा मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोग रहने छ । शल्यकृया शिविरमा आउने चिकित्सक तथा प्राविधिकको टोलीलाई आवत–जावत तथा प्राविधिक शुल्क सेवा फाउण्डेसनसंग मिलेर नेपाल नेत्रज्योति संघ ताप्लेजुङले गर्ने भएको छ । नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङका अनुसार नेत्रज्योति संघले ४० बर्ष नाघेका र पढ्न लेख्नका लागि अनिवार्य चश्मा लगाउनुपर्ने प्रकृतिका बिरामीलाई निःशुल्क रुपमा रिडेबल चश्मा उपलब्ध गराउने छ । कुम्मायक गाउँपालिकाले शिविरमा आउने चिकित्सक तथा प्राविधिकलाई खानबस्न सहितको प्रवन्ध गर्ने भएको छ भने नामदर्ता शुल्क समेत मिनाह गरी औषधि सहितको शुल्क समेत पालिकाले व्यहोर्ने भएको छ ।

Similar Posts