कञ्चनजंघाको दक्षिणी आधार शिविरमा पहिलोपटक माउन्टेन साइक्लिङको सफल अभ्यास

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १७ । माउन्टेन साइक्लिङमार्फत पहिलोपटक ४ युवा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघाको दक्षिणी आधार शिविरसम्म पुग्नु भएको छ ।
सिरिजङ्गा गाउँपालिकाले आयोजना गरेको सिरिजङ्गा महोत्सव २०८२ को अवसरमा ४ युवाहरु साइक्लिङ गर्दै ४ हजार ९ सय ९० मिटर उचाईसम्म पुग्नु भएको हो । महोत्सव आयोजक सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूका अनुसार ४ हजार ९ सय १० मिटर उचाईमा आधार शिविर रहेको छ । माउन्टेन साइक्लिङ टोली भने सो भन्दा ८० मिटर माथि पुगेर फर्किएको मावोले जानकारी दिनुभयो । सिरिजङ्गा गाउँपालिकाले महोत्सवकै अवसरमा माउन्टेन साइक्लिङ कार्यक्रम समेत समावेश गरेको थियो । धरानको एमटिबी ग्रुपका चार सदस्यहरु क्रमशः अविशेक मादेन,दीपसागर तामाङ,अनिष तामाङ र निमा शेर्पा माउन्टेन साइक्लिङमा सवार हुनुहुन्थ्यो । उहाँहरुले ओक्ताङदेखि पुनः नयाँथुङगिमसम्मको पदमार्गमा साइक्लिङ गर्नु भएको हो ।
सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान माउन्टेन साइक्लिङको सफल प्रयासले यो क्षेत्रमा माउन्टेन साइक्लिङको बलियो सम्भावना पुष्टी गरेको बताउँनुहुन्छ ।‘माउन्टेन साइक्लिङमार्फत कञ्चनजंघाको दक्षिणी आधार शिविरसम्म पुग्ने पहिलो प्रयास नै सफल र भव्य भएको छ’पालिका उपाध्यक्ष डाक्टर मावोले भन्नुभयो‘यसले सिरिजङ्गा गाउँपालिका हुँदै पुगिने दक्षिणी आधार शिविरमा माउन्टेन साइक्लिङको सम्भावना र भबिष्य उजागर गरेको छ’ । गाउँपालिकाले समुद्र सहतबाट करिव ३ हजार ४ सय मिटर उचाईमा रहेको पालिकाको वडा नं ८ याम्फुदिनको नयाँ झोरेनीमा तीनदिने महोत्सव सम्पन्न गरेको छ ।
महोत्सवकै अवसरमा करिव ४ हजार ५ सय मिटर उचाईमा साहसिक हाफ म्याराथन प्रतियोगिता समेत गरिएको थियो । नयाँ झोरेनी–कस्तुरेडाँडा–झण्डेडाँडा–सिन्दुरे ढुङ्गा–तुप्लुङ,दुण्डुडाँडा–ढाँडचौकी–भेडीचौक हुँदै मछेवा पुग्नेगरी करिव २४ किलोमिटर दूरीमा साहसिक कञ्चनजंघा हाफ म्याराथन प्रतियोगिता भएको थियो । पालिकाले यसक्षेत्रमा साहसिक पदमार्ग समेत निर्माण गरेको छ । २०७४ सालको निर्वाचनबाट निर्वाचित पालिका अध्यक्ष टीकाराम गुरुङकै पालाबाट निर्माण सुरु भएको साहसिक कञ्चनजंघा पदमार्गलाई बर्तमान कार्यपालिकाले समेत निरन्तरता दिईरहेको छ ।
कञ्चनजंघा क्षेत्रको महत्व र यसक्षेत्रमा जाने साहसिक पदमार्ग समेतको प्रचारप्रसारलाई आधार मानेर पालिकाले यसबर्ष सिरिजङ्गा महोत्सव आयोजना गरेको गाउँपालिकाले जनाएको छ । याक र चौंरीको बलियो सम्भावना रहेको सिरिजङ्गा क्षेत्रमा याक र चौंरी प्रवद्र्धन कार्यक्रम समेत आयोजना गरिएको थियो ।