पाथीभरा क्षेत्रको ऐलानी र सरकारी वनक्षेत्रमा घर टहरा बनाई बसेकालाई दाउरामा प्रतिवन्ध गर्नुपर्ने मेयर मादेनको भनाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १५ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा क्षेत्रको ऐलानी र सरकारी वनक्षेत्रमा घर टहरा बनाईसकेका बासिन्दालाई दाउरा बाल्ने कार्यमा प्रतिवन्ध लगाउनुपर्ने बताउनु भएको छ । उक्त क्षेत्रमा कुकुर र बाख्रा सहितका पशुचौपाया पाल्न तथा जंगलमा छाड्न पूर्णतया प्रतिवन्ध लगाउनुपर्ने भन्दै स्थानीय प्रशासन र वन डिभिजन कार्यालयलाई जंगल फडानी गरी ल्याएका दाउरा नियन्त्रणमा लिन समेत नगरप्रमुख मादेनले आग्रह गर्नु भएको छ ।
डिभिजन वन कार्यालयले सोमवार फुङलिङमा आयोजना गरेको चालु बर्षका कार्यक्रमको प्रगति र आगामी आवमा गरिने प्रस्तावित कार्यक्रम सम्वन्धी छलफलमा मादेनले उक्त कुरा बताउनु भएको हो । मादेनले कार्यक्रममा आगामी आर्थिक बर्ष २०८२।८३ बाट नगरपालिकाले पाथीभरा क्षेत्रको ऐलानी र सरकारी वनक्षेत्रमा घर टहरा बनाई बसेका घरधुरीसंग बहाल बिटौरी कर असुल नगर्ने समेत घोषणा गर्नुभयो ।
स्थानीय सरकार सञ्चालन ऐनमा सरकारी जग्गामा बनेका संरचनाहरु,सरकारी जग्गामा राखी वा घुमाई सञ्चालन गरिएका व्यवसायहरु तथा स्थानीय तहको सभाले उपयुक्त ठानेका अन्य क्षेत्रहरुमा संघीय कानुन प्रतिकुल नहुनेगरी कार्यविधि बनाई बहाल बिटौरी कर संकलन गर्न सक्ने व्यवस्था छ । सोहि अनुसार नगरपालिकाले पाथीभरा क्षेत्रको माथिल्लो फेदिका होटल व्यवसायीबाट प्रतिबर्ष प्रतिघरधुरी २५ हजार रुपैयाँका दरले बहाल बिटौरी कर संकलन गर्दै आएको थियो ।
पाथीभरा क्षेत्रको ऐलानी र सरकारी वनक्षेत्रमा बहाल बिटौरी कर तिर्दै आएकाहरुले त्यहाँको वनजंगल बिनास गरी दाउराको हार–हार लगाएर राख्ने गरेको,दुर्लभ वन्यजन्तु रेडपाण्डा सहितका वन्यजन्तुलाई असर पुग्नेगरी कुकुरलाई छाडा छाडी रेडपाण्डाको बासस्थानमा असर गर्ने गरेको,छाडा पशुचौपायाले भर्खर हुर्कदै गरेका बोटबिरुवालाई असर गरेको कारणबाट आफुले यस्तो बिषय उठाएको मादेनले बताउनुभयो ।