फुङलिङ नगरपालिका वडा नं ६ मा १५ दिने उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १४ । ताप्लेजुङको फुङलिङ नगरपाकिा वडा नं ६ मा आइतवारबाट १५ दिने उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम सुरु भएको छ ।
फुनपा वडा नं ६ को बार्षिक स्वीकृत बजेट तथा हिमाली ग्रामीण विकास समूहको आयोजनामा तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष मदन गुरुङ(तेज)ले महिलाहरुको वाक तथा अभिव्यक्ति कलाको विकास तथा ग्रामीण क्षेत्रमा हुने कार्यक्रम सञ्चालन समेत गर्न सक्ने बनाउनेगरी वडाले तालिमका लागि बजेट बिनियोजन गरेको बताउनुभयो ।
फुनपा ६ का वडा सदस्य जयप्रकाश लिम्बूले तालिमबाट प्राप्त भएको सीप उपयोग गरेर वडाभित्रका नागरिकहरु आफ्ना कुरा निर्धक्कसंग भन्ने बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । आयोजक हिमाली ग्रामीण विकास समूहका अध्यक्ष हर्कराज गुरुङले दक्षता तथा क्षमता विकास गरी निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिता अभिबृद्धि गर्ने तथा वाकलाको विकासमार्फत नेतृत्व क्षमता बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
तालिमका सहजकर्ता तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सैद्धान्तिक र अभ्यासमुलक दुबै बिधि तालिममा प्रयोग गर्ने बताउँदै तालिम पछि सहभागीको भाषणकला र उद्घोषणकलाका बारेमा प्रारम्भिक ज्ञान हासिल हुने विश्वास दिलाउनुभयो । कार्यक्रममा फुनपा ६ का वडा सदस्यहरु क्रमशःटीकामाया सिवा,लक्ष्मीप्रसाद तिवारी र सीता लावुङ,वडा सचिव रनकुमार विक सहितको उपस्थिति थियो । तालिममा २५ जनाको सहभागिता रहेको छ ।