मैवाखोलाका ६ वटै वडामा कफी खेति गर्न सकिने,अध्ययन टोलीद्धारा कफी खेतिका क्षेत्र पहिचान र सिफारिस

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका सबै वडाहरुमा कफीको व्यवसायिक खेति गर्न सकिने अध्ययनले देखाएको छ ।
विज्ञहरुको अध्यययन र सुझावका आधारमा मात्र खेतिका लागि लगानी प्रोत्साहन गर्न अग्रसर देखिएको मैवाखोला गाउँपालिकाले विज्ञहरुमार्फत अध्ययन गरी त्यसको प्रतिबेदन समेत सार्वजनिक गर्दा यस्तो पाईएको हो । मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिका क्षेत्रमा कफी खेति गर्न सकिने हावापानी,माटो,भू–बनोट र धरातीय प्रकृति छ की छैन भनेर पालिकाको आवह्वानमा चिया तथा कफी विकास बोर्ड,चिया बिस्तार योजना लालीखर्क पाँचथरका विज्ञद्धारा अध्ययन गरिएको थियो । अध्ययनबाट विज्ञद्धारा कफी खेति गर्न सकिने क्षेत्र पहिचान समेत भएकोले पहिचान भएका क्षेत्रका बासिन्दालाई गाउँपालिकाले कफी खेतिका लागि आवश्यक छहारी सहितको प्रवन्ध गरी कफी खेति सुरुआत गर्न आग्रह गरेको छ ।
कफी खेति लगाउन उपयुक्त भनेर पहिचान भएका क्षेत्रका कफी खेति गर्न इच्छुक किसानलाई गाउँपालिकाले कफीका बिरुवा निःशुल्क उपलब्ध गराउने समेत पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । विज्ञहरुको अध्ययन र सुझाव बिना खेतिका लागि गरिएको लगानीले प्रतिफल नदिने तथा लगानी डुब्ने त्रास हटाउन गाउँपालिकाले पछिल्ला दिनहरुहमा माटो र हावापानी सुहाउँदो खेति गर्नेगरी विज्ञहरुद्धारा माटो र हावापानीको अध्ययन गर्दै आएको छ । अध्ययनका क्रममा विज्ञहरुले उपयुक्त हुने भनि गरेको सिफारिसका आधारमा मात्र व्यवसायिक खेति अघि बढाउने गरी गाउँपालिकाले माटो र हावापानी सहितको अध्ययन थालेको छ । पालिकाले आइतवार तरकारी तथा फलफुल बालीकोे खेति प्रणालीका लागि हावापानी,माटो र भू–बनोट सहितको जानकारी लिन किसानहरुसंग अन्तरकृया तथा विज्ञहरुमार्फत अध्ययनको काम गर्ने भएको छ ।
कफी खेतिका लागि विज्ञहरुले मैवाखोला गाउँपालिकाको वडा नं १ स्थित १ हजार २ सय मिटर उचाईको तेल्लाबुङ,वडा नं २ को १ हजार १ सय देखि १ हजार १ सय ५० मिटर उचाईको तेम्बे तथा १ हजार ३ सय मिटर उचाईको हात्तिखावा(बाटो मुनि हाङथाना तल्लो भाग) र १ हजार ३ सय देखि १ हजार ४ सय मिटर उचाईको वडा नं ३ स्थित माङहिम टोल र भट्टराई टोलमा कफी खेति गर्न सकिने भएको छ । विज्ञहरुको अध्ययन प्रतिबेदन अनुसार १ हजार ३ सय देखि १ हजार ४ सय मिटर उचाईको रिफाईले जाने घिमिर टोल देखि बाटो मुनिको क्षेत्र,वडा नं ५ को १ हजार ३ सय देखि १ हजार ४ सय ५० मिटर उचाईको नुमलोक फाकुम्बा क्षेत्र तथा १ हजार ३ सय देखि १ हजार ४ सय मिटर उचाईको घोडेटार क्षेत्रका कफी खेति लगाउन सकिने भएको छ ।
वडा नं ६ को १ हजार २ सय देखि १ हजार ३ सय ५० मिटर उचाईको हाम्फाबुङ र साङलुपा क्षेत्रमा कफी खेति गर्न सकिने गरी विज्ञहरुको टोलीले पालिकालाई अध्ययन प्रतिबेदन दिएको छ । विज्ञको टोलीले ५० सेन्टिमिटर गहिरो तथा चौडाई प्रकृतिको खाल्डो खनेर २–२ मिटरको दुरीमा रोप्न,कफी लगाउने जमिनमा अनिवार्य छहारी तथा सिचाँईको व्यवस्था गर्न,कफी लगाउँदै गरेको जमिनमा पानी जम्ने सम्भावित जोखिम भएका स्थानहरुमा पानी बग्ने गरी कफी लगाउने जग्गाको तयारी गर्न,कफी लगाउने क्षेत्रको माटो परीक्षण अनिवार्य गर्न समेत किसानलाई सुझाव दिएको छ । चिया तथा कफी विकास बोर्ड,चिया बिस्तार योजना लालीखर्क पाँचथरका कार्यालय प्रमुख फुलमाया आङ्वो र कृषि प्राविधिक कमल पहराई सहितको टोलीले मैवाखोलामा कफी खेतिबारे अध्ययन गरेको थियो ।