दर्ता र नविकरणमा आउन नसकेका मैवाखोलाका व्यवसायीलाई अनुगमन समितिले दियो १५ दिनको समयावधि

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ४ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारका व्यवसायीलाई जिल्ला अनुगमन समितिले दर्ता तथा नविकरण सहितका कार्य सक्न १५ दिनको म्याद दिएको छ ।

पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूको उपस्थितिमा शुक्रवार साँघुपार्टीमा गरिएको अनुगमनका क्रममा दर्ता,नविकरण सहितका कार्य पूरा नगरेका व्यवसायीलाई उक्त प्रकृया पूरा गर्न १५ दिनको म्याद दिईएको छ । अनुगमन टोली सदस्य तथा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईले अनुगमन टोलीले दिएको निर्देशन तथा सुझावको कार्यान्वयनका लागि १५ दिन पछि फेरि अनुगमन गर्ने कार्यतालिका बनेको जानकारी दिनुभयो । अनुगमनका क्रममा कतिपय व्यवसायीले दर्ता हुनुपर्ने निकायमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको,दर्ता भएका कतिपय व्यवसायीले नविकरण नगरेको,साँघुपार्टीका अधिकाँस व्यवसायीले मूल्य सूची राखेको नपाईएकोले आवश्यक सुझाव तथा निर्देशन दिईएको अनुगमन टोलीमा सहभागी ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले बताउनुभयो ।

अनुगमन टोलीका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सौरभ भुजेलले अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका केहि सामग्री जफत गरी नष्ट गरिएको बताउनुभयो । मैवाखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुनकुमार घिमिरेका अनुसार शुक्रवार साँघुपार्टी बजार क्षेत्रका २४ वटा पसलको अनुगमन गरिएको छ । ४ जना व्यवसायीले व्यवसाय दर्ता नगरेको देखिएकोले १५ दिन भित्र दर्ता प्रकृयामा आउन अनुगमन टोलीले व्यवसायीलाई निर्देशन दिएको घिमिरेले बताउनुभयो । अनुगमन टोलीले व्यवसायीलाई प्रचलित दररेट अनुसारमा मात्र बिक्री बितरण गर्न,मूल्य सूची उपभोक्ताले देख्ने गरी राखी त्यसलाई नियमित अद्यावधिक गर्न,म्याद नाघेका बस्तुहरु बिक्रीस्थलमा नराख्न सुझाएको छ ।

पालिकाले अनुगमनका लागि सक्रिय हुने निकाय जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,उप्रहरी कार्यालय उपभोक्ता हीत संरक्षण मञ्च सहितका प्रतिनिधिको सहभागितामा बजार अनुगमन गरेको थियो । म्याद गुज्रिएका बस्तुहरुलाई बिक्रीस्थलबाट हटाई म्याद सकिएको छुट्टै संकेत गरी राख्न अन्यथा बिक्रीस्थलमा भेटिए जफत हुनेगरी सचेत गराईएको अनुगमन समितिले जनाएको छ । अनुगमनका क्रममा उपभोक्तालाई समेत आफुहरुले खरिद गर्ने सामग्रीको उपभोग्य म्याद भए नभएको यकिन गरेर मात्र खरिद गर्न र व्यवसायीलाई व्यवसायको प्रकृति अनुुसार दर्ता प्रकृयामा सामेल हुन सुझाईएको अनुगमन समितिले जनाएको छ ।

 

Similar Posts