|

कम चाँप भएको समयमा ताप्लेजुङमा तीव्र बनाईयो कोरोना बिरुद्धको प्रतिकार्य योजना

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १४ । देशभर बढ्दो कोरोना संक्रमणको भयबाट पाठ सिक्दै कोरोना संक्रमित शुन्य जिल्ला ताप्लेजुङमा सम्भावित जोखिम व्यवस्थापनका लागि तयारी तीव्र पारिएको छ । सोहि अनुरुप ताप्लेजुङ जिल्ला अस्पताल परिसरमा १० शैयाको आईसोलेसन कक्ष निर्माणको काम अन्तिम चरणमा पु¥याईएको छ । लक्षणसहितका र बिरामले ग्रस्त बाहेक अन्य प्रकृतिका संक्रमित फेला परे अब अस्पतालको आईसोलेसन कक्षमा राखेर चिकित्सकीय निगारानी गरिने छ । आईसोलेसन कक्षको निर्माणकार्य अन्तिम चरणमा पुगेकोले यहिँ साताबाट सञ्चालनमा लैजाने तयारी भईरहेको ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । लक्षणसहितका र अस्पतालको अहिलेको सेवाले मात्र उपचार सम्भव नहुने अवस्थाका कोरोना संक्रमित फेला परेमा मात्र अब सुबिधा सम्पन्न ठाउँमा पठाइने छ । ताप्लेजुङमा फेला परेका पहिलो कोरोना संक्रमितलाई भने मोरङको कोभिड अस्पताल गोठगाउँ पठाईएको थियो । त्यसपछि फेला परेका ७ जनालाई भने फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिन केन्द्रमा राखेर पीसीआर रिर्पोट नेगेटिभ आएपछि घरतर्फ पठाईएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिनुभयो । अहिले ताप्लेजुङमा कोरोना संक्रमित छैनन् भने ३ दिन सम्म खाली रहेको ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिन केन्द्रमा ३ जना मात्र रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जानकारी दिनुभयो । कारागार चलान गर्नुपर्ने,जिल्ला अस्पतालको फिबर कक्षमा रहेका र क्वारेन्टिन सुरक्षार्थ खटिएका प्रहरी जनशक्ति गरी १० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको छ । त्यसको नतिजा सोमवार बिहान सम्ममा आउने ताप्लेजुङ अस्पतालका निमित्त मेसु लामाले जानकारी दिनुभयो । ८ कोरोना संक्रमित फेला परेपनि सबै स्वास्थ्य लाभपछि घर फर्किसकेको र क्वारेन्टिनमा पनि ज्यादै थोरै मात्र रहेको अवस्थाको फाइदा उठाउँदै आगामी दिनमा जोखिम आइहाले कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अहिलेबाट तयारी सुरु गरिएको छ । आईतवार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको अनौपचारिक बैठकले हाल क्वारेन्टिनको रुपमा प्रयोग हुदै आएको उद्योग बाणिज्य संघको भवन,फुङ्लिङ वडा नं ६ स्थित बृद्धाश्रम भवन,चारेपाटेस्थित सामुदायिक भवन र वडा नं ४ स्थित पाथीभरा क्याम्पस भवनलाई थप होल्डिङ केन्द्रको रुपमा प्रयोग गर्न सकिने निधो लिएको छ ।‘अध्यन–अध्यापन हुने अवस्थालाई असर नगर्ने गरी जोखिम आईहाले क्याम्पसको भवनलाई समेत अस्थायी होल्डिङ केन्द बनाउन सकिने सुझाव आएको छ’प्रजिअ चापागाँईले भन्नुभयो । यस्तै व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री र परीक्षणमा प्रयोग हुने भिटीएम भाईल(स्वाब संकलन गर्ने उपकरण)लाई पनि अति आवश्यकताको आधारमा मात्र प्रयोग गर्ने,किफायति र हिफाजति अपनाउने लगायतका न्यूनतम् मापदण्ड तयार गरिएको छ । कोरोना संक्रमित पनि नभएको,क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा पनि चाँप कम भएको समयमा सम्भावित जोखिम आईहाले त्यस बिरुद्ध प्रतिकार्यमा उत्रने गरी योजनाको तयारी तीव्र पारिएको प्रजिअ चापागाँईले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts