|

कृषि र भेटेरिनरीको वार्षिक कार्यक्रम सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १३ ।
ताप्लेजुङ र पाँचथर कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार सदरमुकाम फुङ्लिङमा संयुक्त कार्यक्रमको आयोजना गरी चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
चालू आर्थिक वर्ष २०७७/७८ मा दुई कार्यालयले कार्यक्षेत्र रहेको जिल्ला ताप्लेजुङ र पाँचथरमा कुल १८ करोड ५५ लाख ३३ हजार रुपियाँ खर्च गर्ने जनाएका छन् । कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त कार्यालय प्रमुख सागर बिष्टले चालू तथा पुँजीगत र अन्यसमेत १२ करोड ७५ लाख ९४ हजार रुपियाँ बजेटको कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
बजेटभित्र सङ्घीय सरकारअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको दुई करोड ९४ लाख ३८ हजार र प्राङ्गारिक कृषि प्रवर्द्धन मिसन कार्यक्रमको एक करोड ७० लाख रुपियाँसमेत भएको बिष्टले बताउनुभयो । विभिन्न योजना तथा कार्यक्रममा सञ्चालन गर्नेगरी विनियोजित उक्त रकम दुवै जिल्लामा बराबर कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो ।
यस्तै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको चालू आवमा कार्यान्वयन हुने बजेट पाँच करोड ७९ लाख ३९ हजार रुपियाँ रहेको छ । पुँजीगत, कार्यक्रम खर्च, अन्य संस्थालाई सशर्त अनुदान र सशर्त पुँजीगत अनुदानअन्तर्गतको बजेट दुवै जिल्लामा आधा–आधा कार्यान्वयन गरिने पशु सेवा विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक इन्द्रनारायण शाहाले जानकारी दिनुभयो ।
यता वार्षिक योजना सार्वजनीकिकरण कार्यक्रममा कृषि, भेटेरिनरीजस्ता प्रदेश मातहतका कार्यालयले कतिपय योजना आफूहरुसँग समन्वय र सम्पर्क नगरी गर्ने गरेकाले स्थानीय तहका नेतृत्वले आक्रोस समेत पोखेका छन् । स्थानीय तहसँगको समन्वय र सम्पर्कको पहुँचबिना कुनैपनि कार्यक्रम नगर्न सम्बन्धित कार्यालयलाई स्थानीय सरकारका नेतृत्वले आग्रह समेत गरेका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य बलबहादुर साम्सोहाङले सेवाग्राही लक्षित लगायत सबैखाले योजना जनताले प्रत्यक्ष लाभ पाउनेगरी कार्यान्वयन गर्न सेवा प्रदायकलाई सुझाव दिनुभयो । त्यस्तै कार्यक्रम तथा योजनाहरु नियम र ऐनमा व्यवस्था भएअनुसार सम्बन्धित स्थानीय तह तथा पालिकासँग समन्वय गरेरमात्र कार्यान्वयन गर्न पनि साम्सोहाङले कार्यालयहरुलाई सुझाउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्यद्वय प्रतापप्रकाश हाङ्गाम र होमकुमारी साँबा, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, स्थानीय तहका प्रमुख/उप्रमुख लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts