युएसएआईडी कार्यक्रमको अनिश्चितताको असर ताप्लेजुङका बिद्यालयसम्म पर्दै,ईजिएलका कर्मचारी ३ महिना बेतलवी !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २३ । अमेरिकी बिदेशी सहायता सम्वन्धी संस्था युएसएआईडीमार्फतका कार्यक्रममा प्रभाव पर्दा त्यसको असर ताप्लेजुङको शैक्षिक क्षेत्रमा समेत परेको छ ।
प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु भएका ताप्लेजुङका ३९ वटा बिद्यालयमा त्यसको प्रत्यक्ष असर परेको छ । सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीकेन्द्रित गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच विस्तार गर्न प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम(ईजिएल) सुरु भई बिद्यालय अनुदान समेत निकासा भएका बिद्यालयहरु पहिलो प्रभावमा परेका छन् । सन् २०२८ सम्ममा उक्त कार्यक्रम ताप्लेजुङका ९ स्थानीय तहसहित देशभरका ४८ वटा जिल्लामा लागुहुने योजना थियो ।
ईजिएल कार्यक्रमका सबै कर्मचारीलाई कम्तिमा तीन महिना बेतलवी बस्न भनिएको छ । पहिलो चरणमा ताप्लेजुङका ५ स्थानीय तहमा ईजिएल कार्यक्रम सुरु हुनेमा पाथीभरा याङवरक र आठराई त्रिबेणी गाउँपालिकामा ३९ वटा बिद्यालयमा बिद्यालय अनुदानको रकममध्ये ६० प्रतिशत निकासा भईसकेको छ ।‘बिद्यालयको खातामा निकासा भइसकेको रकम समेत तत्काललाई खर्च नगरी यथारुपमै राख्न पत्र आएको छ’इजिएल कार्यक्रमका एक कर्मचारीले भने ।
ति कर्मचारीका अनुसार पाथीभरा याङवरकका १८ र आठराई त्रिबेणीका २१ गरी ३९ बिद्यालयको खातामा प्रति बिद्यालय ३ लाख रुपैयाँका दरले बिद्यालय अनुदान रकम निकासा भएको थियो । बिद्यालय अनुदान कार्यक्रममार्फत निकासा भएको उक्त रकम सम्वन्धित बिद्यालयलाई यथास्थानमा राखी यो कार्यक्रमको सर्त अनुसारको प्रकृया अघि नबढाउन आग्रह गरिसकिएको ति कर्मचारीले बताए । पहिलो चरणमा यहाँका ५ स्थानीय तहमा ईजिएल कार्यक्रम सुरु हुने भनिएकोमा दुई स्थानीय तहका बिद्यालयहरुमा बिद्यालय अनुदान कार्यक्रम सम्वन्धी सम्झौता भई रकम समेत निकासा भएको थियो ।
बिद्यालय अनुदान कार्यक्रम अन्र्तगत ईजिएल कार्यक्रम लागु भएका बिद्यालयहरुलाई प्रति बिद्यालय ४ हजार अमेरिकी डलर बराबर अनुदान उपलब्ध गराउने सम्झौता थियो । सम्झौतामध्ये ३९ बिद्यालयहरुमा कुल अनुदान रकमको ६० प्रतिशत रकम अर्थात् प्रति बिद्यालय तीनलाख रुपैयाँ निकास भई बाँकी दोस्रो चरणमा निकासा गर्ने योजना रहेकोमा युएसएआईडी कार्यक्रम प्रभावित हुँदा अन्योलता बढेको छ । बिद्यालय अनुदान कार्यक्रमको रकमबाट बिद्यार्थीको कक्षा कोठा तथा बसाई व्यवस्थापन,शैक्षिक सामग्रीले छापामय कोढा,पुस्तक कक्ष,सुज र्याक सहितको व्यवस्थापन हुनेगरी बिद्यालयलाई अनुदान सम्झौता गरिएकोमा अब उक्त कार्यक्रम समेत प्रभावित भएको छ ।
कोशी प्रदेशका ताप्लेजुङ,पाँचथर,धनकुटा, खोटाङ,भोजपुर, तेह्रथुम र उदयपुर गरी सात जिल्लाका ५७ स्थानीय तहका दुई हजार पाँच सय ४९ विद्यालयमा युएसएआईडी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु भएको थियो । इजिएल कार्यक्रममार्फत ४८ जिल्लाका चार सय ८२ स्थानीय तहका १८ हजार दुई सय विद्यालयमा कार्यक्रम अघि बढेकोमा उक्त कार्यक्रम प्रभावित हुने देखिएको छ । कार्यक्रममार्फत करिब ११ लाख विद्यार्थी लाभान्वित गराउने योजना थियो ।
सन् २०२३ को सेप्टेम्बर २८ बाट सन् २०२८ को सेप्टेम्बर २८ सम्म यो कार्यक्रम सञ्चालन हुने तय भएको थियो । कार्यक्रम अवधिमा कुल ३९.९८ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको थियो । तर,अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै अमेरिकी बिदेशी सहायता सम्वन्धी कार्यक्रममा प्रत्यक्ष असर गरेको छ । जुन असर ताप्लेजुङको शैक्षिक क्षेत्रमा समेत परेको छ ।