शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनःश्रेष्ठ चयन,सत्रौं बार्षिक साधारणसभा पनि सकियो
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २६ । ताप्लेजुङस्थित शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभाले गणेशकुमार श्रेष्ठ अध्यक्ष रहेको सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक यिगेन्द्रकुमार गुरुङका अनुसार सञ्चालक समितिको उपाध्यक्षमा हरिचन्द्र पौडेल तथा सदस्यहरुमा जीवनकुमार श्रेष्ठ,मनकुमारी नाल्वो,अनिता दर्नाल विक,दिनेश खवास,अरुण श्रेष्ठ र रेवत श्रेष्ठलाई चयन हुनु भएको छ । सहकारीको लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा भुवन श्रेष्ठ तथा सदस्यहरुमा शंकर श्रेष्ठ र दिलमाया पतङ्वालाई चयन गरिएको छ ।
निर्वाचन समितिका सदस्य दुर्गाप्रसाद श्रेष्ठले नेतृत्वका लागि आवश्यक पर्ने पदाधिकारी,सदस्य तथा लेखा समितिमा आवश्यकता अनुसारको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको जानकारी दिनुभयो । निर्वाचित सदस्यमध्येबाट सचिव सहितका पदमा जिम्मेवारी बाँडफाँड हुने भएको छ ।
शुक्रवार शुभलाभले आफ्नो सत्रौं बार्षिक साधारणसभा समेत सम्पन्न गरेको छ । साधारणसभाले सञ्चालक समितिका तत्कालिन सचिव हरिचन्द्र पौडेलद्धारा प्रस्तुत बार्षिक प्रतिबेदन,कोषाध्यक्ष कृष्णकुमार शाक्यद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन तथा लेखा तथा सुपरीवेक्षण समिति संयोजक भुवन श्रेष्ठद्धारा प्रस्तुत प्रतिबेदन पारित समेत गरेको छ । कोषाध्यक्ष शाक्यकातर्फबाट तत्कालिन सचिव पौडेलले सभामा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारणसभाकै अवसरमा उत्कृष्ट बचतकर्ता,जेष्ठ नागरिक बचतकर्ता,उत्कृष्ट बाल बचतकर्ता र असल ऋणीलाई सम्मान समेत गरिएको शुभलाभ बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा न्यू कञ्चनजंघा कृषि सहकारी संस्थाका अध्यक्ष यिगेन्द्रकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितले बार्षिक साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सहकारी संस्थाले नयाँ नेतृत्व चयन गर्ने प्रकृयाका लागि गुरुङको संयोजकत्वमा दुर्गाप्रसाद श्रेष्ठ र सरिता श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति बनाएको थियो ।