महिला संघका संस्थापक अध्यक्षको जन्मजयन्तीमा अस्पतालमा उपचाररत बिरामीलाई फलफुल बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २५ । नेपाल महिला संघ ताप्लेजुङले महिला संघका संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंह को १०० औं जन्मजयन्ती मनाएको छ ।
ताप्लेजुङ जिल्ला अस्पताल र तमोर अस्पतालमा उपचाररत बिरामीलाई फलफूल बितरण गरेर जन्मजयन्ती मनाएको नेपाल महिला संघ ताप्लेजुङका सचिव अन्जना कडरियाले जानकारी दिनुभएको छ । फलफुल बितरण कार्यक्रममा ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल सहितका महिला संघ ताप्लेजुङका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेपाल महिला संघकी संस्थापक अध्यक्ष सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौंमा भएको थियो । वि.सं. १९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भएको थियो । वि.सं. १९९६ मा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहाँनिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भएर उत्रिनु भएको थियो । वि.सं. २००४ सालमा भूमिगत संगठनको रुपमा नेपाल महिला संघको स्थापना गरेर उहाँ आजन्म अध्यक्ष रहनु भएको थियो ।