पाथीभरा क्षेत्रमा पहिलो पटक हिमपात
-उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर ६ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बुधबार राति १२ बजे पछिदेखि सामान्य हिमपात सुरु भएको हो । पाभीभरा धाम परिसरभन्दा केही तलसम्म हिउँ परेको महतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि पाथीभरा क्षेत्रमा छार्के अर्थात फाटफुट्ट हिमपात भइरहेको छ ।
पाथीभरा क्षेत्रमा कुनै वर्ष असोज महिनामै हिमपात हुने गरेको थियो । यसवर्ष भने बुधबार राति पहिलो पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । हिमपातको मौसम सुरु भएकाले पाथीभरा दर्शन गर्ने भक्तजनलाई आफ्नो स्वास्थ्यलाई समेत दृष्टिगत गर्न अर्थात चिसो समयमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे ध्यान दिन आग्रह गर्नुभएको छ ।
पाथीभरा क्षेत्रसँगै जिल्लाको उच्च हिमाली भेगमा सामान्य हिमपात भएको स्थानीयले बताएका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मा बस्तीका माथिल्लो भेगहरुमा हिमपात भएको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । स्थानीयका अनुसार चार हजार मिटरभन्दा बढी उचाइ रहेको हिमाली क्षेत्रमा सामान्य हिउँ पर्न सुरु भएको छ ।
यता हिमपात भएपछि जिल्लामा चिसो निकै बढेको छ । सदरमुकाम फुङ्लिङसहित जिल्लाभर तुलनात्मक रुपमा चिसो अनुभूति हुन थालेको छ । जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार बिहीबार बिहानको यहाँको न्युनतम् तापक्रम १०.२ डिग्री सेलसियस मापन गरिएको छ ।