खेवाङ गोल्डकपको उपाधिका लागि पेदाङ र कुम्मायक भिड्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १३ । ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङमा आयोजित खेवाङ गोल्डकपको उपाधिका लागि ताप्लेजुङको पेदाङ स्पोर्टिङ क्लव र पाँचथरको कुम्मायक गाउँपालिकाको टिम भिड्ने भएका छन् ।

मंगलवार भएको दोस्रो सेमीफाइनलमा सिदिङ्वा गाउँपालिकाको लालीगुराँस स्पोर्टिङ क्लव सुरुम्खिमलाई सडन डेथमा ८–७ ले पराजित गर्दै पेदाङ स्पोर्टिङ क्लव फाइनल प्रवेश गरेको हो । पाँचथरको कुम्मायक गाउँपालिकाको टिम कोशी प्रदेश प्रहरी क्लवको टिमलाई पराजित गर्दै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अब उपाधिका लागि पेदाङ स्पोर्टिङ क्लव र कुम्मायक गाउँपालिकाको टिम कात्तिक १५ गते भिड्ने छन् ।

खेवाङ गोल्डकपको बिजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा उपबिजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कारका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् । आयोजक खेवाङ स्पोर्टिङ क्लवका अध्यक्ष बिनम मावोका अनुसार बुधवार खेलका लागि बिश्राम गरिएको छ । सो दिन खेवाङ स्पोर्टिङ क्लवले आफुद्धारा निर्मित खेलमैदानको निर्माणमा सहयोग गर्ने तथा जग्गादान गरी सहयोग गर्नेहरुलाई सम्मान गर्ने छ । यस्तै तेल्लोक स्पोर्टिङ क्लव र आयोजक खेवाङ स्पोर्टिङ क्लवका पदाधिकारी र सदस्यबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत हुने माबोले दिनुभयो ।

बुधवार साँझ बृहत्त सांस्कृतिक कार्यक्रम समेत हुने उहाँले बताउनुभयो । यसबर्ष खेवाङ गोल्डकपको सातौं संस्करण हो । प्रतियोगिताको उद्घाटन कात्तिक १० गते प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नु भएको थियो भने समापनका दिन कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने समेत माबोले जानकारी दिनुभयो ।

Similar Posts