इन्टरलाई हराउँदै सेभियाले जित्यो छैटौं पटक युरोपा लिगको उपाधि
कोलोन,भदौ ६ । युरोपा लिगको ‘किङ’ मानिने सेभियाले इन्टर मिलानलाई हराउँदै छैटौं पटक च्याम्पियन बनेको छ । शुक्रबार राति कोलोनमा भएको फाइनलमा सेभियाले इन्टरमाथि ३–२ को रोमाञ्चक जित हात पार्यो । सेभियाका डिफेन्डर डिएगो कार्लोसले रोमेलु लुकाकुलाई फल गरेपछि इन्टरले खेलको सुरुवातमै पेनाल्टी पाएको थियो । लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई खेलको ५औं मिनेटमै अग्रता दिलाएका थिए । यसक्रममा उनले यस सिजनमा आफ्नो गोल संख्या ३४ पुरÞ्याएका छन् । खेलको १२औं मिनेटमा जिसस नाभास र ३३औं मिनेटमा इभर बानेगाको हेडिङलाई गोलमा परिणत गर्दै सेभियाका लागि लुक डी जोङले गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै ३५औं मिनेटमा इन्टर मिलानका डिएगो गोडिनले खेललाई २–२ मा पुरÞ्याए । खेल सकिन १६ मिनेट अगाडि डिएगो कार्लोसको ‘ओभर–हेड’ प्रहार रोमेलु लुकाकुबाट डिफ्लेक्ट हुँदै निर्णायक गोलमा परिणत भएको थियो । लुकाकुको आत्मघाती गोलपछि भने इन्टरको युरोपेली उपाधिका लागि १० वर्षको प्रतीक्षा कायम रह्यो । यस्तै नौ वर्षयता इन्टरले कुनै उपाधि जित्न सकेको छैन । सेभियाले युरोपा लिगको इतिहासमा फाइनल खेलेको यो छैटौं पल्ट हो र उसले कुनै पनि अवसरमा हार बेहोर्नु परेको छैन । सेभियाले सन् २०१४–२०१६ बीच लगातार तीन पल्ट युरोपाकप जितेको थियो । अहिले उपाधि जितेको सेभिया टिम भने नयाँ हो । प्रशिक्षक जुलेन लोपेटेगुईले टिम सम्हालेयता सेभियाले पहिलो पटक उपाधि जितेको हो । फेब्रुअरीयता सेभिया लगातार २१ वटा खेलमा अपराजित रहेको छ ।