माथिल्लो तमोर जलविद्युत् आयोजनाले सिएसआरमा मात्रै ३२ करोड खर्च गर्ने,आयोजनाको अनुमानित लागत ५५ अर्ब बढी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ८ । स्वदेशी निजी क्षेत्रबाट निर्माण हुने २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनाले सामुदायिक उत्तरदायित्व कार्यक्रम(सिएसआर) मा मात्र ३२ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

तमोर इनर्जी प्रालि मुख्य प्रवद्र्धक रहेको आयोजना ताप्लेजुङ भएर बग्ने तमोर नदीको पानी उपयोग गरेर बनाइने छ । यो आयोजना ‘अर्ध जलाशययुक्त’हुने प्रवद्र्धक तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले सामुदायिक उत्तरदायित्व कार्यक्रमको आधा हिस्सा शिक्षा क्षेत्रमा खर्च गर्नेगरी प्रस्ताव पनि गर्नु भएको छ ।

आयोजनाका बारेका सरोकारवालालाई जानकारी दिने तथा सुझाव ग्रहणका लागि फुङलिङमा आयोजित कार्यक्रममा बोल्दै ढुङगानाले सो आयोजनाका लागि कूल ५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत रहने छ ।

बैंक तथा वित्तीय संस्थाहरुमार्फत ३८ अर्ब ६० करोड रुपैयाँ र स्व पुँजीमार्फत् १६ अर्ब ५५ करोड लगानी जुटाउने तयारी रहेको ढुङगानाले बताउनुभयो । उक्त आयोजनाको वित्तीय व्यवस्थापन अन्तर्गत कर्जा सुविधा व्यवस्थापनको अगुवाई एभरेष्ट बैंकले गर्ने भएको छ । कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडिसिएल)को सहायक भूमिका रहने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक,प्रभु बैंक,नेपाल एसबिआई बैंक र गरिमा बैंक समेत लगानी साझेदार वित्तीय संस्था रहने छन् । आयोजना निर्माणको क्रममा २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको छ । अति प्रभावित,प्रभावित,ताप्लेजुङ जिल्ला र अन्य जिल्लाका नागरिकले समेत शेयर लिन पाउनेगरी शेयर हिस्सा विभाजन गर्ने योजना रहेको ढुङगानाले जानकारी दिनुभयो ।

आयोजना संयोजक सम्झना क्षेत्रीले आयोजना निर्माणका लागि प्रारम्भिक कार्य सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार आयोजना निर्माणस्थल सम्मका लागि सडकहरु बन्न थालेका छन् । आयोजनाका लागि जग्गा खरिदको अधिकाँस कार्य पूरा भएको उहाँले जानकारी दिनुभयो । २०८५ साल जेठ महिना सम्ममा पूरा गर्नेगरी हुन लागेको आयोजनाको विद्युत गृह(पावर हाउस)भूमिगत हुने छ । ८ हजार ३ सय ७० मिटर लामो सुरुङ मार्ग बनाइने भएको छ । आयोजनाले वातावरणमैत्री हुनेगरी सुरुङ निर्माणका लागि टिबिएम मेसिन प्रयोग गर्ने घोषणा समेत गरेको छ ।

अध्यक्ष ढुङ्गानाका अनुसार उत्पादित विद्युत १५ किलोमिटर टाढा रहेको मैवाखोलास्थित ढुङ्गेसाँघुमा रहेको विद्युत सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिने छ । ढुङगानाका अनुसार विद्युत उत्पादन पछि बार्षिक ९ अर्ब २७ करोड आम्दानी हुने अनुमान रहेको छ । प्रतिबर्ष तीन प्रतिशतका दरले वृद्धि भई बार्षिक आम्दानी ११ अर्ब ५० करोड सम्म पुग्न सक्ने समेत उहाँले बताउनुभयो ।

आयोजनाले सीप अनुसार रोजगारीका लागि स्थानीयलाई अधिकतम् प्राथमिकता दिने समेत ढुङगानाले बताउनुभयो । यसैबिच सरोकारवालाहरुले जलविद्युत क्षेत्रमा एक नयाँ आयाम आउन लागेको भन्दै तत्काल निर्माण प्रकृया सुरु गर्न तमोर इनर्जी प्रालिलाई सुझाव दिएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts