| |

ताप्लेजुङको जिल्ला सभा तथा वार्षिक समीक्षा सुरु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ७ । जिल्ला समन्वय समिति ताप्लेजुङको जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला समिति समितिको सभा हलमा सातौं जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम बुधबार सुरु भएको हो ।
जिल्ला तथा समीक्षा कार्यक्रमको प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य भट्टराईले जिल्लाको विकास, समृद्धि र सुशासनमा जोड दिनुभयो । उहाँले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्न सबै तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र दलका नेतृत्वसमेतको पहल आवश्यक हुने बताउनुभयो ।
उहाँले जिल्लाको समृद्धिका लागि जिल्लास्तरबाटै भूमिका निर्वाह गर्नुपर्ने र जिल्लाबाट साझा प्रयासले नै सिंगो समृद्ध हुने धारणा राख्नुभयो । कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले पनि जिल्लाको विकासमा सबै तहको जनप्रतिनिधिबिच साझा पहल र समन्वय आवश्यक हुने बताउनुभयो । मन्त्री हाङगामले आफ्नो तर्फबाट समग्र जिल्लाको विकासका लागि सक्दो पहल गर्ने जिल्ला सभासमक्ष प्रतिवद्धतासमेत जनाउनुभयो ।
यस्तै कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशस सभा सदस्य तिलकुमार मेन्याङ्बोले पनि जिल्लाको विकासमा सबै तहका जनप्रतिनिधिहरु सहकार्य र समन्वय अनिवार्य हुने बताउनुभयो । कार्यक्रममा आफ्नो धारण राख्नुहुँदै मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबिर हाङगाम (डम्बर)ले विकास योजनाका बारेमा छलफल गर्ने र विगतका कामको समीक्षा गरी कमजोरी सच्याउँदै अघि बढ्ने अवसरका रुपमा जिल्ला तथा वार्षिक समीक्षा कार्यक्रम भएको बताउनुभयो ।
कार्यक्रमा कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री निर्मला लिम्बू, जिल्लाका स्थानीय तहका पदाधिकारी, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो । यता कार्यक्रममार्फत जिल्लामा हुने विकास तथा योजनाका विषय र गत आवमा भएका कामको बृहत समीक्षा हुने जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताउनुभयो ।
कार्यक्रमकाबिच संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लामा उत्कृष्ट अंक प्राप्त गर्ने मैवाखोला गाउँपालिका र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा उत्कृष्ट हुने सिरिजंघा गाउँपालिकालाई पुरस्कृत गरिएको छ । त्यस्तै आफ्नो जिम्मेवारी अनुसार कर्तव्यनिष्ठ भई भूमिका निर्वाह गर्ने विभिन्न कर्मचारीलाई पनि सम्मान गरिएको निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार कार्यक्रम बिहीबार सम्पन्न हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts