| |

आन्तरिक पर्यटकको रोजाइमा ढङढंगे झरना

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ७ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङढंगे झरना आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको ढङढंगे झरना नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
निकै मनमोहक, आकर्षक र सुन्दर ढङढंगे झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको बाक्लो चहलपहल हुन थालेको पाइएको छ । फुर्सद र चाडपर्वको समयमा आन्तरिक पर्यटकका लागि ढङढंगे झरना उपयुक्त तथा आकर्षक गन्तव्य बन्दै गएको छ । हाल ढङढंगे झरनामा रमाउन समूहगत रुपमै आन्तरिक पर्यटकको उपस्थिति बढ्न थालेको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूले बताउनुभयो ।
वडाध्यक्ष लिम्बूका अनुसार विगतमा भन्दा यसवर्ष चाडपर्वको समयमा ढङढंगे झरनाको भ्रमण गर्ने आन्तरिक पर्यटकको उपस्थिति बाक्लिएको छ । चाडपर्व, विदा र फुर्सद समयको सदुपयोग गर्दै झरनाको भ्रमण गर्ने पर्यटकको उपस्थिति बढेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । उहाँकाअनुसार ढङढंगे झरनाको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । वरिपरि हरियाली जंगलसँगै भीर र पहराको बिचबाट झर्ने झरना निकै सुन्दर रहेको उहाँको भनाइ छ ।
स्थानीय रेनु लिम्बूका अनुसार सुरुसुरुमा न्युन सङ्ख्यामा पर्यटकले ढङढंगे झरनाको भ्रमण गर्ने गरेका थिए । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा ढङढंगे झरनाको तस्बिर र भिडियोहरू लगाउने (पोष्ट गर्ने) क्रमले त्यस्ता पोष्टहरु भाइरल हुन थालेपछि आन्तरिक पर्यटकहरु थप आकर्षित हुँदै गएका लिम्बूको भनाइ छ । उहाँकाअनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुबाट झरनाको प्रचार हुन थालेपछि आन्तरिक पर्यटकको उपस्थिति बाक्लिँदै गएको हो ।
यता सिदिङ्वा गाउँपालिकाले पनि ढङढंगे झरनासहित सो क्षेत्रमा रहेको तिम्बुङपोखरी, सिदिङमा धाम, चमेरे गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल सुरु गरेको जनाएको छ । उक्त पर्यटकीय गन्तव्यहरुमा आवश्यक प्रचारप्रसारका काम, सडक लगायतका पूर्वाधारहरू निर्माण गर्न थालेको गाउँपालिकाले जनाएको छ । आन्तरिक मात्र नभई बाह्य पर्यटक समेतलाई भिœयाउनेगरी तिम्बुङ पोखरी, ढङढंगे झरना लगायतलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेगरी पहल भइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts