तत्काल ताप्लेजुङ आउ–जाउको योजना नबनाउन प्रशासनको आग्रह,काबेली नाकामा कडाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, भदौ ४ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले स्थानीय प्रशासनको सहमति बेगरका सवारी तथा यात्रुलाई नाका–नाकामै रोकिदिन झापा,इलाम र पाँचथर प्रशासन कार्यालयमा अनुरोध पत्र पठाएको छ । सहमति बेगर जिल्ला प्रबेश गर्न खोज्ने सवारी तथा यात्रुलाई ताप्लेजुङ प्रस्थान नाका काबेलीबााट फिर्ता पठाईने भएकोले सो स्थान भन्दा अगावै फिर्ता गराउने वातावरणका लागि झापा,इलाम र पाँचथर प्रशासन कार्यालयमा अनुरोध पत्र पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाले जानकारी दिनुभयो । जिल्ला बाहिर उपचारका लागि अस्पतालले रेफर गरेका बिरामी,उपचारपछि अस्तपतालको पूर्जासहित फर्किएका र क्रियाबस्न जाने नागरिकलाई मात्र अत्यावश्यक सेवा मानी जिल्ला बाहिर पठाउन सकिने खतिवडाले बताउनुभयो । नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा यहाँ आउनु भएका झरेन्द्रप्रसाद चापागाँई संग कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका पदाधिकारी तथा क्रियाशिल राजनीतिक दलको परिचयात्मक कार्यक्रममा सहायक प्रजिअ खतिवडाले अत्यावश्यक सेवा बाहेक सवारी पास जारी नहुने गृह मन्त्रालयको आदेश कार्यान्वयनमा आफुहरु निर्मम बनेको जानकारी दिनुभयो ।‘प्रशासनको सहमति नभएका सवारी र यात्रुलाई काबेली भन्दा यता प्रबेश अनुमति छैन’उहाँले भन्नुभयो । झापा,मोरङ,सुनसरी सहितका जिल्लाबाट ताप्लेजुङ आउन चाहने नागरिकलाई पनि तत्काल जिल्ला प्रबेशको योजना नबनाउन र यथास्थानमा सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । उहाँले कम्तिमा महिना दिन सम्म बाध्यताका आधारमा पास जारी गर्नुपर्ने अवस्था आउन नदिन जिल्लाबासी सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चापाँगाईले भरसक कोरोना संक्रमण भित्रन नदिने उपायका लागि ताप्लेजुङमा अहिले सम्म भईरहेको प्रयास र पहललाई निरन्तरता दिने पक्षमा आफु रहेको बताउनुभयो । उहाँले समुदायमा संक्रमण फैलन नदिन समुदायकै सदस्यको अग्रसरता जरुरी हुने भएकोले नेपाल सरकार र स्थानीय रुपमा कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले बनाएका मापदण्ड र प्रकृयाको पूर्ण पालना हुनुपर्नेमा जोड दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts