‘जो हरायो भनियो,उसलाई फेला पारिसकियो,जसले वेपत्ता पार्यो भनियो उ चाँही थुनाको थुनामै’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २८ । गएको मंसिर १९ गते देखि वेपत्ता भएको व्यक्ति फेला परिसकेको अवस्थामा अभियोग खेपेको व्यक्ति थुनामा रहिरहेको भन्दै ताप्लेजुङका नागरिक समाजका अगुवाले बिरोध जनाएका छन् । उनीहरुले थुनामा रहेका व्यक्तिको तत्काल रिहाई,गैर न्यायिक हिरासत वापत उचित क्षतिपूर्ति समेतको माग गरेका छन् ।

नागरिक अगुवा ज्ञानप्रसाद मिश्रले सामाजिक सञ्जालमार्फत वेपत्ता पारिएको भनिएको व्यक्ति फेला परिसकेको अवस्थामा अभियोग लागेको व्यक्ति थुनामा रहिरहनु कानुनी हिसावले न्यायोचित नभएको भन्दै थुनामा रहेको व्यक्तिको तुरुन्त रिहाईको माग गर्नु भएको छ । उहाँले फितलो अनुसन्धानकै कारण अभियोग लागेको व्यक्ति गलत तरिकाले थुनामा पुगेको दावी गर्दै गैर न्यायिक हिरासत वापत उचित क्षतिपूर्तिको माग गर्नुभयो । नागरिक अनुवा मनमणि काफ्लेले पनि सामाजिक सञ्जालमार्फत अभियोग खेपिरहेका व्यक्तिलाई ‘एउटा निरिह नागरिक’को संज्ञा दिदैं उहाँको शीघ्र रिहाई र उचित क्षतिपूर्ति नभए थप पीडित बन्ने दावी गर्नुभयो । अर्का नागरिक अगुवा इन्द्रबहादुर गुरुङले सामाजिक सञ्जालमार्फतपीडितले न्याय र क्षतिपूर्ति पाउनुपर्ने सहितका न्यायिक निकासको माग गर्नु भएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ घर भइ हाल फुङलिङ नगरपालिका वडा नं ४ बस्ने वीरेन्द्र फेम्बोलाई अपहरण गरी वेपत्ता बनाएको अभियोगमा जिल्ला अदालत ताप्लेजुङको आदेशले फुङलिङका मञ्जुल निरौला भने पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । वीरेन्द्रका दाजु खगेन्द्रको जाहेरीमा मञ्जुलमाथि अपहरण गरी वेपत्ता बनाएको अभियोगमा मुद्दा चलेको छ । जिल्ला अदालतको आदेशमा चित्त नबुझेर मञ्जुलका परिवारले उच्च अदालत इलाममा पुनराबेदन गर्नु भएको छ ।‘पुनराबेदन परेपछि जिल्ला अदालतको सक्कलै मिसिल हामीले उच्च अदालत इजलास इलाममा पठाएका छौं’ताप्लेजुङ जिल्ला अदालतका सूचना अधिकारी बिष्णुकुमार राईले भन्नुभयो ।

मञ्जुल यातायात व्यवसायी हुनुहुन्छ । उहाँ काठमाठौं जाने सवारीका केहि थान टिकट काट्नुहुन्थ्यो । मानसिक अस्वस्थ्य भएको व्यक्तिलाई परिवारको स्वीकृत बेगर यहाँबाट टिकट काटी बाहिर पठाएको अभियोग वीरेन्द्रका परिवारले मञ्जुल माथि लगाउनु भएको छ । पुर्पक्षमा रहेकोले मञ्जुलको प्रतिक्रिया प्राप्त भएन । यता जाहेरवाला वीरेन्द्रका दाजु खगेन्द्रले भने वीरेन्द्र फेला परेको जानकारी आफुले पनि पाएको भन्दै स्वास्थ्य परीक्षण पछि ताप्लेजुङ ल्याउने तयारी गरिएको जानकारी दिनु भएको छ ।‘मान्छे सकुशल भेटिएको छ,राम्रो कुरा हो,अब स्वास्थ्य परीक्षण पछि ताप्लेजुङ ल्याएर सम्वन्धित निकायमा जाने छौं‘ खगेन्द्रले भन्नुभयो ।

प्रहरी वृत्त जगाती भक्तपुर भनेर अहिले सार्वजनिक भएको पत्र हेर्ने हो भने वीरेन्द्र हराएको ६ दिनमै प्रहरीको सम्पर्कमा पुग्नु भएको छ । सार्वजनिक भएको उक्त पत्र अनुसार प्रहरी वृत्त जगाती भक्तपुरको मिति २०८०।८।२५चलानी नम्बर ७३ को पत्रले वीरेन्द्र त्यसैदिन नेपाल घर आश्रम डोलेश्वरधाम पुग्नु भएको छ । उक्त आश्रमले समेत उसैदिन वीरेन्द्रलाई आश्रमस्थलमा स्वीकार गरेको प्रतिलिपि पत्र समेत सार्वजनिक भएको छ ।

सार्वजनिक भएको प्रहरी वृत्त जगातिको उक्त पत्रमा ‘ अन्दाजी ३५ बर्षिय पुरुष बेवारिसे अवस्थामा सल्लाघारीमा स्थानीयले फेला पारी बुझाएकोमा निज पुरुषको आफन्त खोजतलास गर्दा गराउँदा सम्पर्कमा नआएकोले आवश्यक संरक्षणका लागि’ भनेर नेपाल घर आश्रम डोलेश्वरधामलाई आग्रह गरिएको छ । सार्वजनिक भएका पत्रलाई आधार मान्ने हो भने हराएको ६ दिनमै प्रहरी सम्पर्क र आश्रमस्थलमा पुगेको व्यक्तिलाई अपहरण तथा वेपत्ता पारेको कसुरमा मञ्जुल अहिले पनि पुर्पक्षमा छन् । वीरेन्द्र केहिदिन अघि सोहि आश्रममा रहेको तस्बिर सार्वजनिक भएका थिए ।

केहिदिन अघि आश्रममै भेटिएको भनेर ‘होफ फर अल’नामको संस्थामा आवद्धहरुद्धारा सार्वजनिक भएको वीरेन्द्र सहित उक्त संस्थामा आवद्ध केहि अगुवाहरु ः तस्बिर ः मुकेश काकीको फेसबुक पेजबाट ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts