दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लव मोरङलाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १० । दोस्रो आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लव मोरङले जितेको छ ।

कोशीको सगरमाथा यूथ क्लवले मधेस प्रदेशको सलहेश फुटबल क्लव सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिका साथ नगद ५ लाख रुपैयाँ हात पारेको छ । खेलको ३ मिनेटमै सगरमाथा यूथ क्लव मोरङका बिजय भूजेलले टिमका लागि निर्णायक गोल गरे । मिलन राईको पासलाई उत्कृष्ट फिनिसिङ गर्दै बिजयले टिमका लागि गोल गरे । उनको गोलनै सगरमाथालाई जिताउन पर्याप्त बन्यो । जोन ग्लोरी,सेवेए,कार्लोस साम र स्टेफेन गरी ४ बिदेशी खेलाडी लिएर मैदान उत्रिएको सलहेश उपबिजेता मात्र बन्यो । उसले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाएको छ । पासको लय मिलेपनि फिनिसिङमा चुकेको सहलेशले गोल फर्काउन सकेन ।

मध्यान्तर पछि खेलमा दुबै टिमले आक्रामक खेल खेले । सलहेशले खेलमा फर्कन फरवार्ड खेलाडी सृजन गौतमलाई मैदान बाहिर पठाएर स्टेफेनलाई मैदान उतारेको थियो । स्टेफेनलाई फेरि बेञ्चमा राखेर शुसिल यादवलाई मैदान उतारियो । खेलको आखिरी समयमा मोरङले सुदिप श्रेष्ठको स्थानमा बिकु तामाङ र पुनम राईको ठाउँमा भुवन बस्नेतलाई मैदान उतारेको थियो । फाइनल खेलमा मिलन राई,अशोक खवास,विवेक पौडेल,सौभाग्य राई तथा जोन ग्लोरीले फाइनल खेलमा पहेंलो कार्ड पाए । मोरङका मौसम सुब्बा सस्पेन्स भएर मैदान बाहिर बस्दा उनको ठाउँमा दोर्जे तामाङले फरवार्डमा खेलेका थिए ।

सलहेशले सेमीफाईनमा झापाको बिर्तामोड युनाइटेडलाई र सगरमाथा यूथ क्लव मोरङले गृहटीम संघर्ष स्र्पोटिङ क्लवलाई पराजित गरी फाईनलमा स्थान बनाएका थिए । खेलमा विभागीय टिम त्रिभुवन आर्मी,बुटवल लुम्बिनी एफसी,भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लव र पाँचथरको वाईवाई पाँचथर फुटबल क्लव गरी ८ टिम सहभागी थिए ।

समापन समारोहमा प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई,संबिधानसभाका सदस्य डम्बरध्वज तुम्बाहाम्फे,कोशी प्रदेश सरकारका पूर्व मन्त्री प्रदेशसभा सदस्यद्धय तिलकुमार मेन्याङ्वो र निर्मला तावा,प्रदेशसभा सदस्य खगेनसिंह हाङगाम,जिल्ला समन्वय समिति ताप्लेजुङ र पाँचथरका प्रमुख क्रमशःछिरिङ लामा र रामराज आङदेम्बे सहितको उपस्थिति रहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts