सिडिओसंगको कार्य सम्पादन मूल्याङ्कन नतिजा ः कोशी प्रदेशमा तेह्रथुम पहिलो,ताप्लेजुङ दशौं स्थानमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २३ । गृह मन्त्रालय र देशभरका प्रमुख जिल्ला अधिकारीबीच भएको कार्य सम्पादन सम्झौता अनुसारको प्रगति नतिजामा कोशी प्रदेश भरीमा तेह्रथुम जिल्लाको नतिजा सबैभन्दा राम्रो देखिएको छ । प्रदेशभरीमा उदयपुर जिल्लाको नतिजा कमजोर देखिएको छ ।

गृह मन्त्रालयले प्रकाशित गरेको नतिजा अनुसार तेह्रथुम ९६.८७५ अंक प्राप्त गर्दै देशभरका प्रशासन कार्यालयमध्ये आठौं र कोशी प्रदेशमा पहिलो स्थानमा रहन सफल भएको छ । देशभरका दशौं स्थानमा रहेको सोलुखुम्बु कोशी प्रदेशमा भने दोस्रो स्थानमा रहेको छ । उसले ९६.५६२५ अंक प्राप्त गरेको छ । धनकुटा ९५.८७५ अंक प्राप्त गर्दै देशभरमा तेह्रौैं र कोशी प्रदेश भरीमा तेस्रो हुँदा झापा ९५.२५ अंक सहित देशभरमा सत्रौं र प्रदेशभरीमा चौथो स्थानमा रहन सफल भएको छ । ९४.७५ अंक प्राप्त गरेको इलाम देशभरमा उन्नाईसौं तथा प्रदेशमा पाँचौं स्थानमा रहेको छ ।

९४.३७५ अंक प्राप्त गरेको भोजपुर देशभरमा २५ औं स्थानमा रहेको छ भने प्रदेश भरीमा छैटौं स्थानमा रहन सकेको छ । ९४.३१२५ अंक प्राप्त गरेको सुनसरी देशभरमा २६ औं स्थान तथा कोशी प्रदेशमा सातौं स्थानमा रहेको छ । ९२.८७५ अंक प्राप्त गरेको ओखलढुङ्गा देशभरमा ३७ औं स्थानमा पर्दा प्रदेशभरीमा आठौं बन्न सफल भएको छ । देशभरमा ३९ औं स्थानमा रहेको मोरङले ९२.७५ अंक प्राप्त गर्दा प्रदेशभरीमा नवौं स्थानमा रहन सफल भएको छ । ९२.४३७५ अंक प्राप्त गरेको ताप्लेजुङ देशभरमा ४३ औं स्थानमा पर्न सफल भएको छ ।

ताप्लेजुङ कोशी प्रदेशभरीमा दशौं स्थानमा रहन सफल भएको छ । ९१.८१२५ अंक प्राप्त गरेको पाँचथर देशभरमा ५४ औं स्थानमा पर्दा प्रदेशभरीमा एघारौं स्थानमा पर्न सफल भएको छ । संखुवासभा देशभरमा ५९ औं स्थानमा समेटिएको छ । उसले ८९.७५ अंक प्राप्त गर्दै प्रदेशभरीमा बाह्रौं स्थानमा पर्न सफल भयो । ८१.७५ अंक प्राप्त गरेको खाटाङ देशभरमा ७३ औं स्थानमा समेटिँदा प्रदेशभरीमा तेह्रौं स्थानमा परेको छ । उदयपुरको नतिजा प्रदेशभरीमै सबैभन्दा कमजोर देखिएको छ । ७९.७५ अंक प्राप्त गरेको उदयपुर देशभरका ७७ मध्ये ७६ औं स्थानमा रहेको छ ।

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसंग कार्य सम्पादन सम्झौता गरेको थियो । कार्यसम्पादन मूल्यांकन गर्ने आधारहरुमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय र आर्थिक अनुशासन रहेका छन् । मन्त्रालयले प्रत्येक तीनमहिनामा कार्यसम्पादन मूल्यांकनको नतिजा निकाल्ने गरेको छ । कूल पूर्णाङ्क भने एकसय रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts