| |

पर्यटनमैत्री वातावरण निर्माण गर्न पर्यटन गोष्ठी र कुक तालिम

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १४ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पर्यटनमैत्री वातावरण निर्माण गर्न पर्यटन परामर्श गोष्ठी तथा पाक शिक्षा (कुक) तालिम आयोजना गरिएको छ । पाथीभरा दर्शनमा आउने दर्शनार्थी साथै पर्यटकलाई लक्षित गरी पर्यटन परामर्श गोष्ठी तथा कुक तालिम आयोजना गरिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिको आर्थिक सहयोग तथा सिभिल इन्जिनियर स्व. विनोद सुब्बा सिरेङ चोङ्बाङ स्मृति प्रतिष्ठानले पाथीभरा क्षेत्रको काफ्लेपाटीमा परामर्श गोष्ठी एवम् कुक तालिम आयोजना गरेको हो । पाथीभरा क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई सहभागी गराई पर्यटन परामर्श तथा कुक तालिम सञ्चालन गरिएको हो ।
गएको सोमबारदेखि आइतबारसम्म सञ्चालित सात दिने गोष्ठी तथा तालिममा होटल व्यवसायमा संलग्न ४२ जनाले सहभागिता जनाएको थिए । पाथीभरा क्षेत्रको काफ्लेपाटी र फेदी बजारका होटल व्यवसायीको सहभागिता रहेको थियो । पर्यटन परामर्श गोष्ठी तथा कुक तालिममा रमेश गुरुङ लगायतले प्रशिक्षण दिनुभएको आयोजक सिभिल इन्जिनियर स्व. विनोद सुब्बा सिरेङ चोङ्बाङ स्मृति प्रतिष्ठानका अध्यक्ष तिलप्रसाद सुब्बाले जानकारी दिनुभयो ।
पर्यटनमैत्री वातावरण निर्माण गरी पाथीभरा भ्रमण तथा दर्शनलाई थप व्यवस्थित गर्न र धार्मिक पर्यटकलाई आकर्षित गर्न परामर्श गोष्ठी तथा कुक तालिमको आयोजना गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । होटल व्यवसायमा पर्यटनमैत्री वातावरण सिर्जना गर्न सकेमा पर्यटक थप आकर्षित हुने पाथीभरा क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुनेमा समिति विश्वस्त रहेको हाङ्बाङको भनाइछ ।
यता पर्यटनमैत्री वातावरण निर्माणका लागि आवश्यक उपायसहित पाक शिक्षासम्बन्धी तालिम प्राप्त गर्न पाउँदा पाथीभरा क्षेत्रका व्यवसायी पनि हर्षित भएका छन् । हाल उपलब्ध गराउँदै आएको होटलसम्बन्धी सेवालाई थप प्रभावकारी र व्यवस्थित साथै सहज बनाउनमा तालिमले सहयोग पुग्नेमा विश्वस्त बनेको स्थानीय व्यवसायी राजेन्द्र महतले बताउनुभयो । तालिममा सहगाभीलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts