सम्वन्ध बिच्छेदका मुद्दामा ताप्लेजुङमा बन्यो नयाँ रेर्कड,नयाँ दर्ता भएकामध्ये ५७ प्रतिशत मुद्दा सम्वन्ध बिच्छेदका

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १३ । पारिवारिक विग्रहका रूपमा लिइने सम्बन्ध विच्छेदका घटनाले ताप्लेजुङमा नयाँ रेकर्ड कायम गरेको छ ।

आर्थिक वर्ष २०८०।८१ मा दर्ता भएका कूल ३ सय ५५ थान मुद्दामध्ये २ सय २ थान मुद्दा सम्वन्ध बिच्छेदका रहेका थिए । आव २०८०।८१ मा नयाँ लगतको रुपमा दर्ता भएका मुद्यामध्ये सम्वन्ध बिच्छेदका मुद्दामात्र ५७ प्रतिशत हाराहारी रहेको ताप्लेजुङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालतका श्रेष्तेदार(उपसचिव) मनोज बरालका अनुसार आव २०८०।८१ मा जिम्मेवारी सरी आएका ४१ सहित अदालतमा सम्वन्ध बिच्छेदका मात्र २ सय ४३ थान मुद्दा रहेका थिए । आव २०७९।८० बाट आव २०८०।८१ मा जिम्मेवारी सरी आएका १ सय ४० र आव २०८०।८१ मा नयाँ लगतको रुपमा दर्ता भएका ३ सय ५५ गरी आव २०८०।८१ मा कूल ४ सय ९५ थान मुद्दा रहेका थिए । त्यसमध्ये २ सय ४३ थान सम्वन्ध बिच्छेदका रहेकोमा आव २०८०।८१ मा २ सय १ थान मुद्दाको फस्र्यौट गरी चालू आव २०८१।८२ का लागि सम्वन्ध बिच्छेदका ४२ थान मुद्दा जिम्मेवारी सरी आएका छन् । जिम्मेवारी सरी आएका सहित आव २०८०।८१ मा रहेका कूल मुद्दाका हिसावले सम्वन्ध बिच्छेदका मुद्दा ५० प्रतिशत र नयाँ लगतको रुपमा आव २०८०।८१ मा दर्ता भएका मुद्दाका हिसावले करिव ५७ प्रतिशत मुद्दा सम्वन्ध बिच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ ।

सम्बन्ध विच्छेद श्रीमान–श्रीमतीबीचको वैवाहिक नाता सम्बन्धबाट दायित्वरहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचीन समयमा पारपाचुके वा छोडपत्र भनिन्थ्यो । अहिले परिस्कृत रूपमा सम्बन्ध विच्छेद भन्ने गरिन्छ । अंग्रेजीमा ‘डिभोर्स’ भनिने यही शब्द अहिले नेपालीमा पनि बढी प्रचलित छ । मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख गरिएको छ। कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान–लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंग–भंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल–प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी प्रावधान रहेको छ । यस्तै कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा र पतिले पत्नीको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल–प्रपञ्च गरेमा सम्बन्ध विच्छेद गर्न पाउँछिन् । यस्तै पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पनि सम्बन्ध विच्छेद प्रक्रिया बढ्ने कानुनी आधार सिर्जना हुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts