रिड नेपाल ताप्लेजुङद्धारा कार्यक्षेत्रका उत्कृष्ट बिद्यालय,बिव्यस र शिक्षक तथा कर्मचारी पुरस्कृत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १८ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले आफ्नो कार्यक्षेत्र भित्रका चार बिद्यालय,दुई व्यवस्थापन समिति र सातजना शिक्षक तथा बिद्यालय कर्मचारीलाई नगद सहित अवार्ड प्रदान गरेको छ ।

रिड नेपालका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर बोगटीको उपस्थितिमा मंगलवार रिड नेपाल ताप्लेजुङले उक्त अवार्ड प्रदान गरेको रिड नेपाल ताप्लेजुङका जिल्ला प्रवन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । पन्तका अनुसार २०८० सालको शैक्षिक गतिविधि,उत्कृष्टता र लगनशिलता सहितका क्षेत्रलाई आधार मानेर पुरस्कृत हुने बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ र शिक्षकहरुको छनौट गरिएको छ । उहाँका अनुसार फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित सरस्वती माध्यमिक बिद्यालय र इखाबुस्थित रानी आधारभूत बिद्यालय ‘बेष्ट पर्फमिङ बिद्यालय’को रुपमा नगद ४५ हजार रुपैयाँ सहित पुरस्कृत भएका छन् । रानी आठौं पटक उक्त अवार्डद्धारा पुरस्कृत भएको हो । यसअघि एउटा बिद्यालयमात्र ‘बेष्ट पर्फमिङ बिद्यालय’को रुपमा पुरस्कृत हुने गरेकोमा यसपटक दुबै बिद्यालयको छनौट मापन अंक बराबर भएकोले दुबैलाई छनौट गरी अवार्ड बितरण गरिएको पन्तले जानकारी दिनुभयो ।
पन्तका अनुसार सिरिजङ्गा गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजंघा माध्यमिक बिद्यालय र फक्ताङलुङ गाउँपालिकाको इखाबुस्थित सुनदेवी माध्यमिक बिद्यालय नगद ३० हजार रुपैयाँ सहित क्रमशः‘स्टार स्कुल अवार्ड’ र ‘एक्सिलेन्ट रिजल्ट स्कुल अवार्ड एसईई २०८०’बाट पुरस्कृत भएका छन् । बिद्यालय व्यवस्थापन समितितर्फ सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित गणेश माविका बिव्यस अध्यक्ष नेत्रकुमार आचार्य र फक्ताङलुङ गाउँपालिकाको इखाबुस्थित बिपुधाम आधारभूत बिद्यालयका बिव्यस अध्यक्ष इन्द्रप्रकाश लिम्बू नगद जनही ५ हजार रुपैयाँ सहित ‘एसएमसी अवार्ड २०८०’बाट पुरस्कृत हुनु भएको छ ।

रिड नेपाल ताप्लेजुङका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूका अनुसार स्रोत शिक्षकतर्फ सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित गणेश माविका प्रअ रामकुमार लिम्बू,खेवाङस्थित पाथीभरा महादेव आधारभूत बिद्यालयका बिन्दुकला लिम्बू तथा फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित पार्वती माध्यमिक बिद्यालयका कमलकुमार हेल्लोक नगद ५ हजार रुपैयाँ सहित ‘आरएलटी अवार्ड २०८०’बाट पुरस्कृत हुनुभयो । ४ जनाले प्राप्त गर्ने ‘स्टार टिचर अवार्ड २०८०’ बाट सिरिजङ्गा गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजंघा माध्यमिक बिद्यालयका लक्ष्मीप्रसाद लिम्बू,फक्ताङलुङ गाउँपालिकाको बिपुधाम आधारभूत बिद्यालयका बिरेशमान वनेम,इखाबुस्थित सुनदेवी माविका सन्तोष राई पुरस्कृत हुनु भएको छ । वाल विकास शिक्षकतर्फ सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित महेन्द्र आधारभूत बिद्यालयका रमादेवी बिक पुरस्कृत हुँदा बिद्यालय कर्मचारीतर्फ फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित सरस्वती माध्यमिक बिद्यालयका कार्यालय सहयोगी रनबहादुर लिम्बू पुरस्कृत हुनुभयो । उहाँहरुले जनही नगद ५ हजार सहितको अवार्ड प्राप्त गरेको रिड नेपालले जनाएको छ ।

रिड नेपाल विगत १६ बर्षदेखि ताप्लेजुङको शिक्षा क्षेत्रको उन्नयनका लागि काम गर्दै आएको संस्था हो । फक्ताङलुङ गाउँपालिकाको वडा नं ४ इखावु,वडा नं ५ तापेथोक,वडा नं ६ लेलेप र वडा नं ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामाङ्खे,वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिन मुख्य कार्यक्षेत्र भएको रिड नेपालले साझेदार निकायहरुसंगको सहकार्यमा अहिले शिक्षा विकास र उन्नयनका कार्यक्रमलाई जिल्लाभर बिस्तार गरेको छ । रिड नेपालले यस्तो छात्रबृत्ति २०७० सालबाट सुरु गरेको हो । कोरोनाकालका तीनबर्ष छात्रबृत्ति बितरण भएको थिएन । यो हिसावले भने छात्रबृत्ति बितरणको यो आठौं संस्करण रहेको रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक पन्तले बताउनुभयो ।

रिड नेपाल ताप्लेजुङ सहित देशका ४८ वटा जिल्लामा सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थी केन्द्रित गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच विस्तार गर्न सुरु भएको युएसएआडी प्रारम्भिक कक्षा सिकाई कार्यक्रमको पनि साझेदार संस्था हो । रिड नेपालले हिमालयन ट्रष्ट युकेबाट आर्थिक सहयोग प्राप्त गर्छ । अवार्ड बितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराई सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts