| |

आधारभूत तह कक्षा ८ मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २० । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । आधारभूत तहअन्तर्गत सामुदायिक विद्यालय, कक्षा ८ मा उत्कृष्ट नतिजा (जिपिए) ल्याउने विद्यार्थीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो ।
पालिकाभरमा उत्कृष्ट नतिजा प्राप्त गर्ने तीनजना अर्थात प्रथम, द्वितीय र तृतीय हुनेलाई सम्मान गरिएको पाथीभरा याङ्वरक गाउँपालिका शिक्षा शाखाले जनाएको छ । शाखाका शिक्षा अधिकृत लासाङ तामाङका अनुसार पालिकाभरिबाट कक्षा ८ प्रथम हुने विद्यार्थीलाई १० हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ । यस्तै द्वितीय र तृतीय हुनेलाई क्रमशः आठ हजार र छ हजार रुपियाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको तामाङले जानकारी दिनुभयो ।
पढाइप्रति प्रेरित साथै थप प्रोत्साहित गर्न आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो । अध्यक्ष सुब्बाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको योजनाअन्तर्गत विद्यार्थीलाई सम्मान गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष सुब्बा, उपाध्यक्ष रनमाया गुरुङलगायतले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।
यता शैक्षिक गुणस्तर सुधारलगायतका विषयमा छलफल गर्न र यसवर्षको एसईईमा प्राप्त भएको नतिजाबारे समीक्षा गर्न पालिकाभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसहितको बैठक पनि सम्पन्न गरिएको शिक्षा शाखाले जनाएको छ । आगामी दिनमा एसईई नतिजा साथै पालिकाभित्रको शैक्षिक गुणस्तर सुधार गर्न खेल्नुपर्ने भूमिका र आवश्यक योजनाबारे बैठकमा छलफल भएको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts