शिक्षा सुधारका लागि फुङलिङ नगरपालिका वडा नं ८ द्धारा ३६ बुँदे संकल्प,बिद्यालयमा राजनीति प्रवेश गर्न नदिईने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ९ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले शैक्षिक सम्मेलनमार्फत बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,प्रधानाध्यापक र शिक्षकहरुको छुट्टाछुट्टै संकल्प प्रस्ताव पारित गरेको छ ।

शैक्षिक सुधारका लागि आइतवार सम्पन्न शैक्षिक सम्मेलनमार्फत शिक्षकहरुले १५ बुँदे र प्रधानाध्यापकहरुले ११ बुँदे प्रतिबद्धतामा हस्ताक्षर गर्नु भएको छ । वडामा रहेका ७ वटा बिद्यालयका विब्यस तथा शिक्षक अभिभावक संघका पदाधिकारीले १० बुँदे संकल्प गरेका छन् । फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहेका वडाध्यक्ष क्षितिज सुनुवारको परिकल्पनामा भएको शैक्षिक सम्मेलनमार्फत विब्यस पदाधिकारी,अभिभावक, प्रधानाध्यापक र शिक्षकलाई शैक्षिक सुधारका लागि जिम्मेवार बनाईएको छ ।‘संकल्प भनेको आफुलाई त्यो दिशामा अग्रसर गराउन प्रतिबद्ध छु भन्नु हो’वडाध्यक्ष सुनुवारले भन्नुभयो । उहाँले शैक्षिक सम्मेलनको निश्कर्षलाई शैक्षिक सुधारको सूत्रको रुपमा उपयोग हुने र गरिने विश्वास जनाउनुभयो ।

१५ बुँदे संकल्पमार्फत शिक्षकहरुले निर्धारित समयमा बिद्यालयमा नियमित उपस्थित हुने,पाठ्यक्रमको मर्म र आशयलाई ग्रहण गरी शिक्षण गर्ने,शिक्षा ऐन तथा नियमावलीलाई पालना गर्ने तथा प्रधानाध्यापकले अह्राए खटाएकोमा काम गर्ने,वालमैत्री शिक्षण सिकाई क्रियाकलापलाई अवलम्बन गर्ने,शिक्षा संगै बिद्यार्थीलाई संस्कार पनि सिकाउने,बिद्यार्थीको असल अभिभावक,मनपर्ने मित्र र योग्य गुरुको भूमिका निर्वाह गर्ने भनेका छन् । यस्तै बिद्यार्थीका अभिभावकलाई आफ्नो अभिभावक सरह मान्ने,बिद्यालयमा प्रवेश गरेपछि राजनीतिक गतिविधिमा संलग्न नहुने,कक्षाभरी बिद्यार्थीलाई खुसी राख्ने,हरेक बर्ष शैक्षणिक कार्ययोजना बनाउने र आफुले शिक्षण गरेको बिषयप्रति पूर्ण जवाफदेहि हुने संकल्प शिक्षकहरुले गरेका छन् ।

प्रधानाध्यापकहरुले शैक्षिक प्रशासक मात्र नभई शिक्षक–बिद्यार्थीको अभिभावक हुने संकल्प गरेका छन् । प्रधानाध्यापकहरुले आफु कार्यरत बिद्यालयलाई अब्बल दर्जाको बनाउन सदा प्रयत्नशील रहने,नमूना बिद्यालय बनाउन आवश्यक सूचक बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने,शैक्षिक अनुशासन कायम गर्ने,शिक्षणका अतिरिक्त अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने र बिद्यालयको वातावरण स्वच्छ,स्निग्ध र आर्कषक बनाई राख्ने संकल्प गरेका छन् । यस्तै बिद्यार्थीलाई बिद्यालयमा टिकाई राख्न प्रभावकारी शिक्षण सिकाई र गुणस्तरीय नतिजामा ध्यान दिने,जाति,धर्म,लिङ,वर्णका आधारमा कुनैपनि शिक्षक,बिद्यार्थी र अभिभावकलाई भेदभाव नगर्ने प्रतिबद्धता समेत प्रधानाध्यापकहरुले जनाएका छन् । उनीहरुले स्थानीय सरकारबाट नयाँ कार्यविधि बनाई प्रअ छनौट गरेमा आफुहरु मञ्जुर हुने समेत संकल्प पत्रमा हस्ताक्षर गरेका छन् ।

बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीले शिक्षाको गुणस्तर कायम गर्ने कुरामा सबैखाले सहयोग गर्ने संकल्प लिएका छन् । उनीहरुले बिद्यालयलाई आवश्यक पर्ने स्रोत र साधन जुटाउने र भएको स्रोत साधनको सहि उपयोगमा जोड दिने,बिद्यालयमा भएका सबै प्रकारका कार्यक्रम तथा गतिविधि पारदर्शी बनाउन लाग्ने,बिद्यालयमा दलिय राजनीति प्रवेश गर्न नदिई शान्ति क्षेत्रको मर्म अनुरुप सञ्चालन गर्न सहयोग गर्ने,बिद्यालयको बार्षिक बजेट स्वीकृत गरी सरोकारवालालाई जानकारी गराउने,बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयको पहुँचमा ल्याउने,स्थानीय सरकार,शिक्षा शाखा र शिक्षा इकाईले दिएको निर्देशन पालना गर्ने संकल्प गरेका छन् । यस्तै असल शिक्षकलाई पुरस्कार र कमजोर शिक्षकलाई असल र दक्ष बन्ने वातावरण तयार गर्ने,प्रधानाध्यापकलाई सहि मार्गमा अघि बढ्न प्रेरित गर्ने र बर्षान्त्यमा अभिभावक भेला बोलाई शैक्षिक सुधारका लागि शिक्षक,बिद्यार्थी,अभिभावक र सरोकारवालाको गोलमेच गर्ने संकल्प पनि विव्यस र शिक्षक अभिभावककोतर्फबाट गरिएको छ ।

कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,बासु माविका प्रअ युवराज बस्नेत,भानुजन माविका प्रअ किशोरकुमार राई,बासु माविका पूर्व प्राचार्य डिल्लीरमण बराल,फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेल,रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्त,पत्रकार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतम,पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, भानुजन मावि स्थित आईटी एकेडेमीका प्रमुख बसन्त पालुङ्वा,जिल्ला प्याब्सनका सचिव तरुण भारती,सिद्धकाली विब्यस अध्यक्ष पृथ्वीमान पालुङ्वा लगायतले बिद्यालय सुधारका योजना बारे आ–आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा वडा नं ८ का रहेका ७ वटा बिद्यालयका प्रधानाध्यापकहरुले आ–आफ्ना बिद्यालयमा रहेका समस्या बारे अवगत गराउनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts