लियोनसँग पराजयपछि सिटी पनि लिगबाट बाहिरियो

अरुलाई पनि शेयर गरौ !

लिस्बन,साउन ३२ । मोउसा डेम्बेलेले बेन्चबाट मैदान प्रवेश गर्दै खेलको अन्त्यतिर दुई गोल गरेपछि लियोनले युरोपेली च्याम्पियन्स लिगमा शनिबार म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ । यससँगै उपाधिको बलियो दाबेदार पेप ग्वार्डिओलाको सिटी प्रतियोगिताबाट बाहिरिएको छ । स्टाडियो जोसे अल्भालडेमा लियोनले म्याक्सवेल कोरनेटको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको मध्यमा केभिन डे ब्रुनले सिटीका लागि बराबरी गोल फर्काएर सेमिफाइनल प्रवेशको सम्भावना जीवित राखेको थियो । तर डेम्बेलेले ७९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटमा उनले अर्को गोल पनि थपे । फ्रान्सेली घरेलु लिगमा सातौं स्थानमा रहेर निराशाजनक प्रदर्शन गरेको लियोनले च्याम्पियन्स लिगमा भने राम्रो खेलिरहेको छ । मार्चयता उसले खेलेको यो दोस्रो औपचारिक खेल मात्रै हो । अब भने उसले प्रतियोगिताको फाइनल पुगेको सपना बुन्न्न सक्छ र यसका लागि बुधबार बायर्न म्युनिकको सामना गर्नेछ । लियोनको जितसँगै च्याम्पियन्स लिगमा सेमिफाइनल समीकरण पनि सकिएको छ । पहिलो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आरबी लाइपजिगको सामना गर्नेछ । त्यसपछि सन् २०१० को सेमिफाइनलको पुनरावृत्तिका रूपमा बायर्न र लियोन भिड्नेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts