नेपालमा कोरोना संक्रमितको संख्या साढे २४ हजार नजिक
काठमाडौं, साउन २८। नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या साढे २४ हजार नजिक अर्थात कुल संख्या २४ हजार ४३२ पुगेको छ ।
नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । गौतमका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ ।
प्रदेश १ मा ६१४ , प्रदेश २ मा ३ हजार ४५७ , बागमती प्रदेशमा १ हजार ५२४ , गण्डकीमा २४७ , प्रदेश ५ मा ६५७ , कर्णाली प्रदेशमा २२० र सुदूरपश्चि प्रदेशमा ८९४ सक्रिय संक्रमितहरु रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म देशभर १४ हजार ८४६ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म कुल ४ लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे। यस्तै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६४ जना संक्रमण मुक्त भएका छन् । डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो।
यता नेपालमा कोरोना संक्रमणाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । मृत्यु हुनेमा धनुषाका दुई जना, काठमाडौंका एक जना, धादिङका एक जना, सप्तरीका एक जना, मोरङका एक जना, कपिलवस्तुका एक जना र बाराका एक जना रहेको छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्लामा काठमाडौँ, पर्सा, रौताहट र महोत्तरी गरी चार जिल्ला रहेका छन् । त्यस्तै कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने छ पुगेको छ। प्रवक्ता गौतमका अनुसार सोलुखुम्बु, संखुवासभा, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्य रहेको छ ।