| |

फुङ्लिङमा राँगा र बङ्गुरको मासुको मूल्य वृद्धि

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २५ । ताप्लेजुङमा राँगा र बङ्गुरको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङका स्थानीय व्यवसायीले एक सातायता राँगा र बङ्गुरको मासुको मूल्य वृद्धि गरेका हुन् ।
मासु व्यवसायीले प्रतिकिलोग्राम ५० देखि १०० रुपियाँसम्म मासुको मूल्य वृद्धि गरेका हुन् । सदरमुकाम फुङ्लिङमा यसअघि बङ्गुरको मासु प्रतिकिलोग्राम ३५० रुपियाँले बिक्री हुँदै आएकोमा मूल्य वृद्धिपछि ४५० रुपियाँ पुगेको छ । बङ्गुरको राम्रो मासु प्रतिकिलोग्राम ४५० र सालाखाला ४०० रुपियाँ मूल्य कायम गरिएको ताप्लेजुङ मासु व्यवसायी संघले जनाएको छ ।
यस्तै मूल्य वृद्धिपछि राँगाको राम्रो मासु प्रतिकिलोग्राम ५०० रुपियाँ र सालाखाला ३५० रुपियाँ पुगेको छ । यसअघि राँगाको मासु सालाखाला प्रतिकिलोग्राम ३०० र राम्रो मासु ४०० रुपियाँले बिक्री गरिँदै आएको थियो । मासुका लागि राँगा र बङ्गुर मागअनुसार पाउन छाडेपछि मूल्य वृद्धि भएको स्थानीय मासु व्यवसायी रण लिबाङले बताउनुभयो ।
ताप्लेजुङ मासु व्यवसायी संघका सदस्यसमेत रहनुभएका लिबाङका अनुसार स्थानीय किसानले पालेको बङ्गुर र साँगा जिल्लाबाहिर निर्यात हुन थालेको छ । बाहिरका व्यापारीले महंगो मूल्य लगाएर बङ्गुर लैजान थालेपछि जिल्लामा मासुका लागि राँगा र बङ्गुरको अभाव हुन थालेको उहाँको भनाइ छ ।
जिल्ला बाहिरका व्यापारीले लगाउने मूल्यसँग प्रतिस्पर्धा गर्नुपरेकाले मूल्य वृद्धि गर्न बाध्य हुनुपरेको ताप्लेजुङ मासु व्यवसायी संघका अध्यक्ष काजी सुनुवारले बताउनुभयो । उहाँकाअनुसार स्थानीय पशुपालक किसानले बढी मूल्य लगाउनेलाई नै राँगा/बङ्गुर बिक्री गर्ने र सोहीअनुसार मूल्य लगाएर खरिद गर्नु पर्दा मासुको मूल्य वृद्धि गर्नु परेको हो ।
फुङ्लिङ बजारमा खसी र कुखुराको मासु भने पुरानै मूल्यमा बिक्री हुदै आएको छ । खसीको मासु प्रतिकिलोग्राम ८०० रुपियाँ, लोकल (स्थानीय) कुखुरा ७५० रुपियाँ र ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम ५७० रुपियाँ रहेको छ । भेडाको मासु भने प्रतिकिलोग्राम एकहजार रुपियाँ रहेको व्यवसायीले बताएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts